rajamo
। । । । । । । । ताजा सामाचार
अन्तर्वाता / लेख
संविधान लेख्नुको विकल्प छैन
–चित्रबहादुर के.सी.
अहिले नेपालको मूल समस्या भनेको संविधान लेख्ने कुरा हो । शान्ति प्रक्रियालाई टुंगोमा लाउने कुरा हो । अहिले नेपाली जनताका यी दुई कुराहरू चार वर्षदेखि अल्झिरहेका छन् । शान्ति प्रक्रिया टुंगो लागेको छैन । संविधान लेख्ने काम पूरा भएको छैन । जबसम्म शान्ति प्रक्रिया टुंगो लाग्दैन, संविधनको मस्यौदा तयार हुन्न अर्थात् संविधान लेखिन्न तबसम्म जतिवटा नेताले हेलिकम्पटर घुमाए पनि यहाँ हुने वाला केही छैन ।
हामीले धेरै देख्यौं । पंचायतकालमा धेरै मन्त्रीहरू भए, जुरो हल्लाए । बहुदल आएपछि पनि कांग्रेसबाट दर्जनांै मान्छे मन्त्री भए, जुरो हल्लाए । बहुदल आएपछि एमालेबाट मात्र ८४ जना मन्त्री भएछन् । अब पालो चाहिं एकीकृत माओवादीको छ । माओवादी नेताहरू मन्त्री हुने लाइनमा छन् । आजसम्म यतिका मन्त्री हुँदा नेपाली जनताले के पाए ?– म प्रश्न गर्न चाहन्छु । भर्खरै प्रचन्डजीले बोल्ने बेलामा भन्नुभयो रे–हामीले गणतन्त्र ल्याइदियौं । हामीले राजा फालिदियौं । माओवादीले मात्र फालिदिएको हो राजा ? के त्यो राजा फाल्ने राष्ट्रिय जनमोर्चा थिएन ? राजा मान्दै आएको नेपाली कांग्रेस समेत राजा फाल्न तयार भएको होइन । एमाले राजा फाल्नेमा तयार भएको होइन ? उहाँहरूले किन त्सतो बेवकुफ कुरा गर्दै हुनुुहुन्छ ? माओवादी पनि हो राजा फाल्नेमा, पछिल्लो कुरा राजा फाल्नेमा माओवादी पनि आएको हो । राजा फालेको, गणतन्त्र ल्याएको हाम्ले मात्र हो भनेर उहाँहरूले पानी खाइखाई भाषण गर्नुहुन्छ । त्यो गलत हो । राजा फालेको, गणतन्त्र ल्याएको हामी सबै मिलेर हो –माओवादी एक्लैले होइन ।
देश आज विकराल स्थितिमा गैरहेको छ । तर यो स्थिति हाम्ले गर्दा भएको हो भन्नुहुन्न उहाँहरू । अन्तर्राष्ट्रिय हवाई अड्डामा गएर हामी हे¥यौं भने देख्छौं –दिनको १४ सय नेपाली विदेश गैरहेका छन् । देशभरी हत्या हिंसा भैराखेको छ । महंगीले जनताको ढाड भाँचिएको छ । हत्या, लुटपाट र अपराध बढी राखेको छ । ज्यानमारा, चोर र डाँकाहरू सरकारमा बसेका छन् । त्यसको जिम्मा लिन पर्छ कि पर्दैन । गणतन्त्रको जिम्मा लिनेले ? आज सरकारमा बस्ने मान्छेले नै २२ वटा जिल्लाले निर्णय गरेर मधेश टुक्राइदिने सक्छौं भन्दाखेरी माओवादीका साथीहरू चुप लागेर बस्नु भएको छ । त्यसको जवाफ अर्घाखाँचीका जनतालाई आज किन दिनु भएन, प्रचन्डले ? २२ वटा जिल्ला मिलेर तराईलाई अलग जिल्ला बनाउँदा यो देशको अवस्था के हुन्छ ? त्यो स्थिति हामीले ल्याएको हो भनेर भन्नुहुन्न प्रचन्डले । संघीय प्रणाली हामीले ल्याएको हो भन्नुहुन्छ उहाँहरू । संघीय प्रणाली उहाँहरूले ल्याउनु भएको होइन । संघीय प्रणलीले गलत परिणाम ल्याइसकेपछि एक दिन उहाँहरूले भन्नु हुनेछ–संघीय प्रणाली हामीले ल्याएको होइन भनेर । इमान्दारितापूर्वक भन्ने हो भने संघीय प्रणाली ल्याएको तराईका जनताले हो, तराईबासीले हो । अन्तरिम संविधानमा संघीयता थिएन । ००७ सालमा जनताले संघीयता मागेका थिएनन्, ०३६ सालमा मागेका थिएनन् र ०४६ साल अनि ०६२÷६३ को आन्दोलनमा पनि जनताले संघीय प्रणाली चाहियो भनेका थिएनन् । अन्तरिम संविधान तयार गर्ने बेलामा प्रचन्डजी पनि हुनुहुन्थ्यो । जब तराईको आन्दोलनमा पचास एकाउन्न जना मान्छे मरे तब अन्तरिम संविधानमा संशोधन गरेर संघीय प्रणाली ल्याइएको हो । त्यो ल्याउने बेलामा कांग्रेसभित्र छलफल भएको होइन, एमाले भित्र छलफल भएको होइन, स्वयं माओवादीको केन्द्रीय समितिमा समेत छलफल भएको होइन । सात दल थिए अन्तरिम संविधानमा संघीयता घुसाउने बेलामा तर गिरिजाबाबु, प्रचन्डजी, माधवजी तीन नेता मात्र मिलेर त्यतिबेला संघीयतामा जान सहमत भएका हुन् । तीनवटा नेताले सल्लाह गरेर भारतको दबाबमा नेपाललाई संघीय प्रणालीमा लगिएको हो । हामीसँग प्रमाण छ संघीय प्रणाली कसले ल्याएको हो भन्ने कुराको एकछिनलाई मानौं, संघीय प्रणाली माओवादीले नै ल्याएको हो तर अहिले संघीय प्रणालीले परिणाम के देखाउन थाल्यो ? आज मगरहरूको राज्य, गुरूङहरूको राज्य, थारूको राज्य, नेवारको राज्य, लिम्बुवानको राज्य, खम्बुवानको राज्य नेपाल जस्तो अविकसित मुलुक, १०१ वटा जातिहरू भएको देशमा जातीय आधारमा अंशवन्डा गराएर के गर्न खोज्नु भएको हो प्रचन्डजीले ? संघीय प्रणाली उहाँहरूले नै ल्याएको हो भने टाठाबाठा आठ दश वटा जातिहरूलाई राज्य दिएर बाँकी जातिहरूले मान्छन् कि मान्दैनन् ? त्यो कुरा उहाँहरूले किन भन्नुहुन्न ? जातीय आधारमा सबै जातिहरूलाई यो मुलुकको अंशवन्डा गरिन्छ है केही मुठ्ठीभर जातिलाई अंशवन्डा हुन्छ यो राष्ट्रको भनेर उहाँहरूले किन भन्न सक्नु भएन ? उहाँहरूलाई गर्व छ १६ हजार आठ सय अठासी मान्छे आफ्ना कारणले मरेकोमा त्यसलाई उहाँहरूले जनयुद्ध भन्नुहुन्छ । दशौं अरबको भौतिक संरचना ध्वस्त गरेकोमा उहाँहरूलाई अहिले पनि गौरव छ । महान् जनयुद्ध भन्नुहुन्छ । महान् जनयुद्ध पछि नेपाली जनताले के पाए ? माओवादीका साथीहरू पनि हुनु होला यहाँ, आज नेपाल संसारको सबभन्दा नांगो भोको बेरोजगार देशमा गनिएको छ । देशमा सरकार छ कि छैन आज जनताले थाहा पाउन छाडेका छन् । आज देशमा उद्योगधन्दा कलकारखाना चौपट भैराखेका छन् ।  आज गाउँघरमा जाँदाखेरी महिला, केटाकेटी र बुढाबुढी मात्र छन्– युवापिंढी विदेशीइराखेको छ । त्यो चाहिं हाम्रा कारणले भयो भन्नुहुन्न उहाँहरू । यो भएको अर्काको कारणले । राम्रो कुरा गणतन्त्र ल्याएको उहाँहरूले, संघीय प्रणाली ल्याएको उहाँहरूले हामी सबैले त घाम तापेका । उहाँहरूले संघीय प्रणाली ल्याइदिएर अहिले हामीलाई सुख
भएको रे ।
अहिलेसम्म शान्ति प्रक्रिया नटुंगिनुको पछाडि माओवादीकै हात छ । माओवादीका कारणले शान्ति प्रक्रिया टुंगिएको छैन । शान्ति प्रक्रिया नटुंगिएपछि संविधान लेखिन्न । अहिले बल्ल कांग्रेस एमालेलाई लागेको छ कि माओवादी शान्ति प्रक्रियामा इमान्दारितापूर्वक आइसकेको छैन । राष्ट्रिय जनमोर्चा मात्र त्यो पार्टी हो जसले शान्ति प्रक्रिया टुंग्याएपछि मात्र माओवादीलाई सरकारमा ल्याउनुपर्छ भनेको थियो । अहिले कांग्रेस र एमालेलाई भालुको कम्पारामा हात राखेझै भएको छ । एउटा राजनीतिक पार्टीका कार्यकर्ताले शिविरमा बसेर महिनाको बीस करोड खान्छन् भने त्यो बहादुरी हो ? एउटा राजनीतिक पार्टीका कार्यकर्ताले शिविरमा बसेर राज्यको ढिकुटीबाट विस करोड खान्छन् भने अरू राजनीतिक पार्टीका कार्यकर्तालाई चाहिएन ? जब पार्टी सरकारमा जान्छ, तब त्यही पार्टीका कार्यकर्ताहरू यही पार्टीका मोर्चाहरू मन्त्रालयमा भैलो खेल्छन् । विभागमा भैलो खेल्छन् । त्यसकारण सत्तामा जानुको अर्थ आफ्ना कार्यकर्ताहरू पोस्नु, आफ्ना मतदातालाई मात्र पोस्नु र अरू सम्पूर्ण राष्ट्रवासीलाई हेरेको हे¥र्यौ पार्नु हो । अहिलेसम्म देखिंदै आएको त्यही छ ।
माओवादीप्रतिको हाम्रो यो आलोचना नौलो होइन, अहिले त केही सुघ्रिएको छ माओवादी । यो कुरा भन्नैपर्छ–शान्ति र संविधान अहिलेको मुख्य एजेन्डा हो भनेर असारमा माओवादीले केन्द्रीय समितिले एकमतले पास ग¥यो । हामीले पनि बाबुरामलाई समर्थन ग¥यौं । प्रचन्डजीले धेरै चोटी चटक देखाउनुभयो । प्रधानमन्त्री भएका बेलामा नौ महिनासम्म संसदमा पटकपटक रोष्टमबाट उहाँले भन्नुभयो–म चमत्कार गर्छु । लुटिएको सम्पत्ति १५ दिनमा फर्काइदिन्छु, म चमत्कार गर्छु । शान्ति प्रक्रिया ३ महिनामा टुंग्याउछु, म चमत्कार गर्छु । पछिल्लो पटक सात दिनमा टुंग्याउछु, १५ दिनमा टुंग्याउँछु भन्नुभयो । अब त हुँदाहुँदा के लाग्यो भने जनता देखेपछि उहाँहरूले केही न केही चमत्कारको घोषणा गरिहाल्नु हुन्छ । अहिले बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेलामा शान्ति प्रक्रिया टुंग्याउने नटुंग्याउने अब माओवादीकै हातमा छ । उनीहरूले अहिलेसम्म हामीलाई सरकारमा जान दिइएन भनिरहेका थिए । हामीलाई सरकारको नेतृत्व गर्न दिइएन भनेका थिए । सरकारकै नेतृत्व गर्न नपाएपछि हामीले संविधान कसरी लेखिदिने ? शान्ति प्रक्रिया कसरी टुंग्याउने ? उहाँहरूले भन्दै अँएको यही हो । बाबुराम भट्टराई अहिले प्रधानमन्त्री भएको ४५ दिन पुगेको छ । यो ४५ दिनमा उहाँले सिन्को भाँच्नु भएको छैन । हिजो कांग्रेसले भनेको छ–माओवदीसँगको बसाईमा उहाँहरूले (माओवादीले) सकारात्मक कुरा गर्नुभएको छ । यस्ता सकारात्मक कुरा गर्न लागेको चार वर्ष भयो । तपाई हाम्रो आशा र भरोसा छ–उहाँहरूले शान्ति प्रक्रियालाई टुंगो लाउनु पर्छ । अहिलेका ती १९ हजार दुई सय सेना यै संसदीय आहाल भित्र थुनेर पैसा खुवाउन होइन । यो संविधानसभाको लागि होइन त्यत्रा मान्छे मरेको । राजा हटाउन होइन त्यत्रा मान्छे मरेको । ती मान्छे मरेको त विदेशीहरूको हस्तक्षेप हटाउन, देशमा विदेशी हस्तक्षेप भैराख्यो, देशलाई अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाबाट हटाउन हो त्यत्रा मान्छे मरेको त । अहिले मानी लिनुस शान्ति प्रक्रिया टुंगियो, संविधान निर्माण भयो र गणतन्त्र संस्थागत भयो भने पनि के नेपाली जनताको गासबासको समस्या समाधान हुन्छ ? के नेपाली जनताले विदेशी गल्ली चाहर्न पर्दैन ? अवश्य पर्नेैछ । केही फरक पर्नेछैन, नेपाली जनताको जीवनस्तरमा अहिले मात्र कुरा यत्ति हो कि सामन्ती राजतन्त्रको तुलनामा अब आउने पूंजीवादी गणतन्त्र त्यो कमसेकम एक पाइलो प्रगतिशील कदम हो । या पूंजीवादी प्रकारको व्यवस्था भएको हुनाले त्यसैलाई ल्याउनको लागि, गणतन्त्रलाई संस्थागत गर्नको लागि चार वर्षपछि बाबुराम र प्रचन्ड बल्ल एक ठाउँमा उभिएको स्थिति छ । अझै पनि कांग्रेस, एमाले र माओवादी नमिलिकन, उनीहरू तिनै पार्टी एक ठाउँ नउभिइकन शान्ति प्रक्रिया टुंगिन्न । संविधान बन्दैन ।
संविधान बनाउन नेपाली जनताले दुई वर्षको म्याद दिएका थिए । त्यो दुईवर्ष सकियो । एक वर्ष थपियो, त्यसमा पनि भएन । तीन महिना थपियो, त्यो पनि भएन । फेरि तीन महिना थपियो त्यो पनि भएन । अब मंसिर १४ गते आउन ४२ बाँकी छ । अब यो बीचमा माओवादीको सबभन्दा ठूलो परीक्षा छ । माओवादी भित्र पनि विशेष गरेर बाबुरामको ठूलो परीक्षा छ । यो बीचमा तपाई हामीले दबाब दिनु पर्छ कि–शान्ति प्रक्रिया टुंगो लगाऊ, नयाँ संविधान लेख, संविधानको मस्यौदा ल्याउ भनेर । होइन भने यो आलोपालो गरेर माओवादीले शासन गरिरहने, कांगे्रसले शासन गरिरहने, एमालेले शासन गरिरहने यस्तो हुँदैन । यहाँ हिजोका प्रतिगामीहरू संगठित भएर हिंडिराखेका छन् । त्यसकारणले शान्ति प्रक्रियालाई टुंगो लगाउँछन् र संविधन तयार गर्छन् भने हामीले मतभेदका बाबजुद पनि माओवादी सरकारलाई समर्थन गरेका थियौ र अहिले पनि गछौं । तर कुरा मात्र गर्ने, ४५ दिन भित्र शान्ति प्रक्रिया टुंग्याइएन र संविधानको मस्यौदा तयार गरिएन भने मैले राजीनामा दिन्छु भनेको अहिले अमेरिकाबाट फर्किएर आएपछि बाबुरामजीले भाका फेरि हाल्नु भयो । राजनीतिक पार्टीभित्र सहमति भएको ४५ दिनभित्र भन्न थाल्नुभयो । कुरा त बाझिहाल्यो नि ¤ कस्ले बुझेको छैन र ? त्यसो हुँदा के हुँदोरहेछ भने जसरी पनि सत्तामा जाने, सत्तामा गएर आफ्नो धोका पु¥याउने, सिंहदरवारमा फोटो टाँस्ने, जनता देख्ने ठाउँमा । जनता जहाँसुकै जाउन, जनता जहाँसुकै मरून ।
अहिले पनि तपाई देखिराख्नु भएको छ–यति ठूलो भ्रष्टाचार छ देशमा । तीन वर्षदेखि ६२ प्रतिशत आफूलाई कम्युनिस्ट हुँ भन्नेहरू एमालेले पनि आफूलाई कम्युनिस्ट भन्छ, माओवादीले त झन भन्ने नै भयो–युद्ध जितेर आएका हौं भन्छ । यो तीन वर्षको अवधिमा तपाईहरूले कमसेकम बजेट पनि ल्याउन सक्नु भएन बेलामा । जनताका विकास निर्माणका कामहरू अलपत्र पार्नुभयो । यो तीनवर्षको अवधिमा तपाईहरूले जनतालाई  दिएको के हो ? महंगी कति घट्यो ? हत्याहिंसाका घटना कति कम भए, भ्रष्टाचारीहरूलाई कति कार्वाही
भयो ? भ्रष्टाचारीलाई कार्वाही भएन र स्वयं माओवादीभित्र, एमालेभित्र, कांग्रेसभित्र भ्रष्टाचारीहरूको जमात भयो । बाहिर भएका गुन्डाहरू धमाधम पार्टीभित्र हुल्नुभयो । विभिन्न गुन्डाहरू, डनहरूको बलमा तपाईहरूले ठेक्का पट्टा कब्जा गर्ने , बाटो खन्दा होस, पुल बनाउँदा होस् भवन निर्माण गर्दा होस् आफ्नो पार्टीले जसरी पनि कब्जा गर्ने र अरूलाई हेरेको हे¥यौ गराउने गर्नुभयो । यस्तो चरित्र र बानी व्यहोराले कम्युनिस्ट भन्न सुहाउँछ ? हिजो तपाईहरूसँग बलेरो थिएन, हिजो तपाईहरूलाई कुर्सी मिलेको थिएन अहिले माओवादीभित्रै ठूलो धनाढ्य सामन्तीवर्ग पैदा हुँदै गैरहेको छ ।
हिजो डढेका मकै गोजीमा राखेर हामीसँग सँगै हिंड्नेहरू सँग आज ६० लाखको पंजेरो कहाँबाट आयो ? काठमाडौंमा घर घडेरी कसरी बने ? बैंक व्यालेन्स कसरी बढ्यो ? लुटेर ¤ कम्युनिस्टहरूको चरित्र त्यही हो ? त्यसलाई भन्छन् कम्युनिस्ट ? तपाईहरूले गाह्रो नमान्नुहोला, एमालेका साथीहरू पनि हुनुहोला यहाँ, माओवादी पनि हुनुहोला “फाटे फाटोस् महीको पानी नफाटोस् है तर” तपाईहरूले आफूलाई कम्युनिस्ट भन्न सुहाउँछ ? अहिले एमाले र माओवादीका साथीहरूले जुन खालको आचारण र चरित्र देखाइराख्नु भएको छ, ठेक्कापट्टा हात पार्नको लागि, सत्तामा जानका लागि– यो कम्युनिस्ट चरित्र होइन । साम्राज्यवाद, विस्तारवादको चाकडी गरेर, दन्डवत गरेर भएपनि सत्तामा बस्नु पर्ने, सत्ताभन्दा बाहिर बस्न नसक्ने तपाईहरू । सत्तामा गएपछि सिन्को भाँच्न नसक्ने तपाईहरू । सत्तामा गएपछि लुट, भ्रष्टाचार चुलिइहाल्ने तपाईहरूले जनतालाई लुटिहाल्ने । अनि, तपाईहरूले आफूलाई कम्युनिस्ट भनेर जनतालाई ठगिरहनहुन्छ ? त्यसकारण हामीले अझै पनि भनिरहेका छौं समय छ–तपाई सच्चिनुस् ¤ सबै प्रकारका झारपातहरू, एउटा पार्टीको अनुशासनमा बस्न नसकेकाहरू, बदमासी गरेकाहरू त्यसखालका मान्छेहरूलाई आफ्नो पार्टीमा हुल्न तपाईहरू ढडिया थापेर बस्नुभएको छ । ती बदमासहरू पार्टीले कार्वाही गरेर हटाएका ती अवसरवादीहरू त्यहाँ गएर बुरूक्क बुरूक्क उफ्रिरहेका छन्, बुर्कुसी गरिरहेका छन् ।
राष्ट्रिय जनमोर्चालाई छाडेर माओवादीमा पसेका साथीहरूले अहिलेसम्म गर्नु भयो के ? अब गर्नुहोला । बलेरो चढ्नु होला । घर बनाउनु होला । बैंक ब्यालेन्स मिलाउनु होला । त्यो त हिजो राणाले पनि गरेका थिए । कांगे्रस सत्तामा बस्दा कांग्रेसले पनि गरेको थियो । एमालेले पनि गरेको थियो । दरबारियाहरूले पनि गरेका थिए । के त्यसो गर्दैमा जनताका समस्या समाधान हुन्छन् ? तपाईहरूले गाह्रो नमान्नुहोला–कम्युिनस्ट सिद्धान्तको आधारभूत मूल नीति, सिद्धान्त र विचार प्रवाहबाट एमाले च्यूत भएको उहिल्यै हो । माओवादी च्यूत हुँदै गैराखेको छ । तैपनि उनीहरूले जनतालाई ढाँट्नका लागि हसिया हथौडा फिर्काउँदै, ठेक्कापट्टा कब्जा गर्दै, सत्तामा जान भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको चाकडीमा कुनै कसर बाँकी नराख्दै गैराखेका छन् । जनतालाई भन्ने बेलामा अहिले पनि हामी साम्राज्यवाद विस्तारवादविरोधी हौं भन्नुहुन्छ । त्यो पत्याउँछन् जनताले ? तपाईहरूले जे गर्दै हुनुहुन्छ, कम्युिनस्ट आचरणबाट पतन भएर गरिरहनु भएको छ । अझै पनि मौका छ । माओवादी भित्रका कतिपय इमान्दार क्रान्तिकारी साथीहरू–तपाईको नेतृत्वले के गरिराखेको छ ? तपाईहरूको पार्टी सर्वहाराको रह्यो
आज ? तपाईहरूको केन्द्रीय कार्यालय देख्दा छकमन पर्छौं हामी, कांग्रेस र एमालेका भन्दा गाडीको लस्कर हुन्छ त्यहाँ । लुटेका गाडीहरू । सर्वहाराको पार्टी त्यस्तो हुन्छ ? जनताले भन्न सकेका छैनन् । किनभने मारिम्ला भन्ने डर छ– “कुन गहिरो डर हो मरिन्छ कि भन्ने एउटै छ ठूलो डर” तपाईहरूलाई अझ पनि कम्युनिस्ट हौं भन्ने लाग्छ ? संसारमा कम्युनिस्टहरूले कही जातीय राज्यको कुरा गर्छन् ? जातिजातिको राज्य बनाएर यो देशमा जातीय ध्वंश गराउन तपाईहरू गैराख्नु भएको छ । बेलैमा करेक्सन गर्नुस् । बेलैमा सच्चिनुहोस् । कम्युनिस्टहरू कहिल्यै पनि जातीय राज्यमा विश्वास गर्दैनन् । जातीय राज्य त साम्राज्यवादीहरूको एजेन्डा हो । विस्तारवादहरूको डिजाइन हो । त्यसको तपाईहरू शिकार बन्नुभएको छ । तपाईहरूलाई थाहा छ कि छैन यो मुलुकमा संघीयताका विरूद्धमा साइलेण्ट मेजरिटी छ । अर्थात् चुपचाप बहुमत छ । जनताले मुख खोल्न सकेको छैन । जनताले देखिसके पूर्वमा जातीय र साम्प्रदायिक संगठनहरूले त्यहाँ आफ्नो गणराज्य खोलेर अन्य पार्टीलाई जान नदिएको । तराईका अलगाववादी पार्टीहरूले सत्तामा बस्ने, भ्रष्टाचार गर्ने अनि पहाडियाहरूले हामीलाई उपनिवेश बनाए भन्ने र मधेश टुक्राउन संघीयताको बहानामा मधेशको विरोध गर्नेहरूलाई औंला काटिदिन्छौं भन्ने । जसले सत्तामा बसेर नेपाली जनतालाई लगातार  लुटेको छ, देश खलास पारेको छ, जनताको हाडछाला खाइराखेको छ, उनीहरूले च्यालेन्ज दिइराखेका छन् । बाइस जिल्ला मिलेर हामीले मधेश टुक्राइदिन सक्छौं भनिरहेका छन् । मधेशको विरोध गर्नेहरूको हात काट्न सक्छौं भनिरहेका छन् । त्यस्तो भन्नेहरूका बीचमा हाम्रो बाबुराम कामरेड बस्नुभा”छ । बाबुरामजीलाई व्यक्तिगत रूपमा मैले जान्दछु । हामी कुनै बेलासँगै थियौं । जसले कमाउनैका लागि देश लुट्नैका लागि सरकारमा बसिराखेको छ, अहिले बाबुरामजी उनीहरूकै बीचमा हुनुहुन्छ । यही अवस्थामा जाने हो र सुधार हुन्न भने मुलुक सुडान हुनेछ ।  संसारका ठूला देशहरूमा दशौं नम्बरमा पर्ने दक्षिणी अफ्रिकी देश सुडान, संघीय प्रणालीमा गैसकेपछि अहिले टुक्रिएको तपाईले देख्नुभयो । नेपालमा कुनै हालतमा पनि संघीय प्रणाली लागु गर्न सकिने स्थिति नै छैन । त्यसो हुनाले नै राष्ट्रिय जनमोर्चाले २०६५साल जेठ १५ गते जब संविधान सभामा जवरजस्ती संघीय प्रणाली भनेर सुनाइयो त्यही बेलामा भन्यो– संघीयता चाहिन्न, देश टुक्राउन पाइन्न । त्यही दिन देखि राष्ट्रिय जनमोर्चाले मेचीदेखि महाकालीसम्म, दिल्लीदेखि अरबका खाडीसम्म लाखौंलाख जनताका बीचमा भन्दै आएको छ–यदि नेपाली जनताले संघीय प्रणाली खारेज गर्न सकेनन् भने संघीय प्रणालीले नै यो देश खारेज गरिदिने छ, यो कुरा तपाईहरूले नोट गर्नुस् किनभने तपाईले संकेत देखिसक्नु भएको छ । संकेत तपाईहरूले के देख्नु भएको छ भने मधेशी र पहाडीको बीचमा,
 जनजाति र अरू जातिको बीचमा सबैभन्दा ठूलो जाति क्षेत्री अन्य जातिमा, बाहुनहरू १२, १३ प्रतिशत अन्य जातिमा, ५ प्रतिशत पनि जनसंख्या नभएको जातिलाई छुट्टै राज्य, त्यहाँ मिल्ने कुरा हुन्छ ? माओवादीका साथीहरूले यस्तो पुरूषार्थ गर्दै हिंड्नु भएको छ । संघीय प्रणाली त हाम्ले ल्याएको हो भनिरहनुभएको छ, यस्तो संघीय प्रणालीले यो मुलुक बच्छ ? त्यसो हुनाले हामीले शुरूदेखि भनेको कुरा के हो भने– संघीय प्रणाली खारेज हुनुपर्छ । स्थानीय स्वशासनलाई जनताको मौलिक अधिकारको रूपमा राखिनु पर्छ ।
संविधान नलेखिनुमा एउटा कारण संघीय प्रणाली पनि हो । राज्य पुनर्संरचना कस्तो बनाउने ? अहिलेसम्म त्यसको ठेगान छैन । त्यसकारणले साँच्चै यो मुलुक बचाउने हो भने केन्द्रमा सीमित रहेका अधिकारहरू विकेन्द्रीकरण गर्नुपर्छ । चाइना एकात्मक प्रणालीमा रहेर पनि त्यत्रो विकास गर्न सक्छ, बेलायतले सक्छ, जापानले सक्छ अनि नेपालले एकात्मक प्रणालीबाट विकास गर्न सक्दैन ? जनतालाई संघीय प्रणालीको कुरा सुनाउने अधिकार जति केन्द्रमा च्यापेर राख्ने ? अहिले पनि देशमा केन्द्रीकृत शासन व्यवस्था छ । नेताहरूको मुखमा संघीय प्रणाली छ, सिंहदरबारबाट अधिकार यो अर्घाखाँचीका गाविसहरूमा कति आएको छ भन्नुस् त ? गाविस÷नगरपालिकाको चुनाव नभएको कति भयो ? जब केन्द्रमा शासन रहन्छ, त्यही हो केन्द्रीकृत शासन । नेपालमा अहिले कांगे्रस, एमाले, माओवादीको पालामा केन्द्रिकृत शासन छ । त्यसकारण हाम्रो सुझाव के हो भने केन्द्रिकृत शासनको अन्त्य गर्नुपर्छ । सामन्ती शासनको अन्त्य गर्नुपर्छ र एकात्मक राज्य प्रणाली अन्तर्गत नै राज्यपुनर्संरचना गर्नुपर्छ । एकात्मक प्रणाली अन्तर्गतनै प्रशासनिक प्रदेशहरू बनाउन मिल्छ, जनतालाई अधिकार दिन मिल्छ । जुन ठाउँहरूमा आदिवासी, जनजाति, पिछडिएका दलित जातिहरू छन् उनीहरूलाई स्वशासन दिन मिल्छ – एकात्मक शासन प्रणालीमा पनि । यदि संघीय प्रणाली जवरजस्ती लादियो भने संघीय प्रणालीले देशको राष्ट्रियता, सार्वभौमिकता र अखन्डता रहने छैन । मैले लहडमा यो भनिराखेको छैन । तपाईहरू आफै पनि देखिरहनु भएको छ । चार पाँच वर्षसम्म शान्ति प्रक्रिया नटुंग्याएर, संविधान नबनाएर चिल्ला गाडीमा चढेर, हेलीकप्टर घुमेर निर्वाह हुन्छ ? यसो गर्न लाज लाग्ने पर्दैन ? राष्ट्रिय जनमोर्चाले संघीय प्रणाली नमाने पनि उनीहरूले संविधान लेख्न त सक्थे नि ¤ राजमोको त जम्मा ४ सिट रहेको छ । कांग्रेस, एमाले र माओवादीको गरेर ४६० सिट छ । ४६० मा सरकार बनाउन ३०० भए हुन्छ, संविधान बनाउन ४०० मत चाहिन्छ । तर तपाईहरूले देखिरहनु भएको छ–नौं महिना प्रचन्ड पौडिए सत्तामा । २२ महिना माधव कुमार पौडिए सत्तामा, सात महिना झलनाथजी पौडिनु भयो सत्तामा । ४५, ४६ दिन भयो बाबुराम जीको रहर पनि पुगिराखेको छ । खाली सत्तामा, सत्ताको मात्र खोजी गरे पछि संविधान बन्छ ? शान्ति प्रक्रिया टुंगिन्छ ? त्यसकारण यहाँ उपस्थित जनसमुदायहरू तपाईले आ–आफ्नो पार्टीलाई दबाब दिनुहोस् । संविधान लेखिएन भने, शान्ति प्रक्रिया टुंगिएन भने यहाँ कांग्रेस, एमाले, माओवादी कसैको पनि सत्ता रहने छैन । तपाईहरूले आफ्नो पार्टीलाई दबाब दिनुहोस् – शान्ति प्रक्रिया टुंग्याओ, संविधान छिट्टै लेख भनेर । संघीय प्रणालीको झन्झट छाडिदेओ, स्थानीय स्वशासन जनतालाई मौलिक अधिकारको रूपमा व्यवस्था गर । एकात्मक गणतन्त्रले मात्र नेपाल बच्न सक्छ होइन भने सक्दैन । अहिलेको स्थितिमा सबै देशभक्त जनतान्त्रिक शक्तिहरू र ०६२÷६३ सालका आन्दोलनकारी सबै राजनैतिक शक्तिहरूले आफ्ना बीचमा मतभेद भए पनि संविधान नलेखिएको कुरा जनतालाई दोष दिएर हुँदैन । शान्ति प्रक्रिया नटुंगिएका कुरा जनतालाई दोष दिएर हुँदैन । जनताले त हामीलाई जिम्मेवारी दिए । अझ कति लामो समयसम्म म्याद थपिरहने ? साँच्चै भन्ने हो भने त हामी अवैधानिक भैसकेका छौं–जनताले चुनेर पठाएको त दुई वर्षलाई हो । लगातार म्याद थपेर जनताले तिरेको कर कसैले सिंहदरबारमा बसेर खाने, कसैले शिविरमा बसेर खाने गर्न मिल्छ ? जनताका विकासका समस्या के छन्, ती हेर्नु पर्दैन ? त्यसकारण यहाँ उपस्थित जनसमुदायहरू, पत्रकार साथीहरू, कलाकार साथीहरूलाई म फेरि अनुरोध गर्न चाहन्छु –तपाई हामी मिलेरै पंचायत गएको हो । तपाई हामी मिलेरै राजा गएको हो । तपाई हामी मिलेरै राणा गएका हुन् । तपाई हामी मिलेरै यी पार्टीहरूलाई दबाब दिई शान्ति प्रक्रिया टुंगोमा लगाउनै पर्छ । संविधान लेख्नैपर्छ । त्यसको विकल्प छैन ।
(दशैं पूर्णिमाको अवसरमा २०६८ आश्विन २५ मा राजमो अर्घाखाँचीद्वारा अर्घा रानीगैरामा आयोजित विशाल जनसभालाई अध्यक्ष के.सी.ले प्रमुख अतिथिको आसनबाट गर्नुभएको सम्बोधनका सम्पादित अंशहरू)
प्रस्तुती ः नारायण शर्मा
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal