rajamo
। । । । । । । । ताजा सामाचार
अन्तर्वाता / लेख

(२०६८ साल फागुन २८ गते राष्ट्रिय जनमोर्चा, बाग्मती क्ष्ँेत्रीय समितिका तर्फबाट आयोजित “आणविक शक्तिको विश्वव्यापी खतराका विरुद्ध संघर्ष गरौं” विषयक अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेलद्वारा प्रस्तुत अवधारणा)

आदरणीय अध्यक्ष, अतिथि, सहभागि साथी तथा पत्रकार मित्रहरु,
सर्वप्रथम राष्ट्रिय जनमोर्चाको बाग्मती क्षेत्रीय समितिका तर्फबाट विश्व फुकुशिमा दिवसको अवसरमा आयोजित “आणविक शक्तिको विश्वव्यापी खतराका विरुद्ध संघर्ष गरौं” विषयक यो अन्तरक्रियामा उपस्थित सबै अतिथि, सहभागि साथी र पत्रकार मित्रहरुलाई अभिवादन गर्न चाहन्छौं ।
आज देशका सबै राजनीतिक शक्तिहरु, बुद्धिजीवी, सञ्चार माध्यम र आम जनताको पनि ध्यान मुख्य रुपले देशको आन्तरिक राजनीति तर्फ नै गएको छ । त्यो सही र आवश्यक पनि छ । तर आजको संसारमा कुनै देशको राजनीतिमा अन्तर्राष्ट्रिय परिस्थितिले पनि धेरै नै असर पर्दछ । आजको विश्व साम्राज्यवाद वा भूमण्डलीकरणको युगमा अन्तर्राष्ट्रिय परिस्थितिको कुनै देशको राजनीतिमा धेरै नै असर पुराउने गरेको कुरा स्वतः सिद्ध छ । गत प्रथम र द्वितीय विश्व युद्धका बेलामा ती युद्धहरुमा प्रत्यक्ष रुपले संलग्न नभएका देशहरुलाई पनि पुगेको क्षति हामी सबैलाई थाहा भएको कुरा हो । त्यसपछि पनि अन्तर्राष्ट्रिय रुपमा हुने गरेका कैयौं युद्ध वा अन्य घटनाहरुको संसारभरी नै असर पर्ने गरेको छ ।  आणविक शक्तिहरुको प्रयोगबाट पूरै मानवजाति वा सम्पूर्ण प्राणी जगत समाप्त हुने र भविष्यमा पनि लामो समयसम्म यसको असर पर्ने गम्भीर खतरा उत्पन्न भएको छ । तर नेपालमा त्यो पक्षप्रति धेरै नै कम ध्यान जाने गरेको छ । त्यस प्रकारको पृष्ठभूमिमा राष्ट्रिय जनमोर्चाको बाग्मती क्षेत्रीय समितिद्वारा अन्तर्राष्ट्रिय विषयमा आयोजित यो कार्यक्रमले धेरै नै महत्व राख्दछ ।
आज विश्व फुकुशिमा दिवस हो । २०११ मार्च ११ मा जापानको फुकुशिमाको दाईची भन्ने स्थानमा ठूलो सुनामी (समुद्री आँधी) र भूकम्प आएका थिए । त्यसबाट ठूलो धनजनको क्षति भएको थियो । कुनै पनि भूकम्प वा समुद्री आँधीबाट त्यस प्रकारको क्षति हुनु कुनै नयाँ कुरा होइन । तर त्यो घटनाको कैयौं गुणा बढी गम्भीरता यो कुरामा छ कि त्यो समुद्री आँधी र भूकम्पको परिणामस्वरुप त्यहाँका कैयौं आणविक भट्टिहरुमा विष्फोट भएको थियो र त्यसबाट उत्पन्न रेडियो धर्मी विकिरणको सयकडौं किलोमिटर टाढासम्म असर परेको थियो । 
सन् १९८६ मा रुसको चेरनोविलमा भएको आणविक दुर्घटनापछि गत साल फुकुशिमामा भएको दुर्घटना संसारको सबैभन्दा ठूलो आणविक दुर्घटना हो । त्यसका रेडियो धर्मी किरणबाट मानवजीवनमा लामो समयसम्म शारीरिक वा मानसिक असर पर्ने तथा त्यसबाट क्यान्सर जस्ता कैयौं गम्भीर रोगहरु उत्पन्न हुने वैज्ञानिकहरुले निष्कर्ष निकालेका छन् ।
फुकुशिमाका आणविक भट्टि (युनिट नं. १) को १९०७ मा स्थापना गरिएको थियो । त्यो संसारका सबैभन्दा ठूला २५ आणविक भट्टिहरु मध्ये एउटा हो । त्यहाँ अरु पनि आणविक भट्टिहरु छन् । १९७८ को भूकम्प पछि त्यहाँका सबै आणविक भट्टिहरुको निरीक्षण गर्ने र उच्च स्तरका सुरक्षाको व्यवस्था गर्ने काम गरिएको थियो । तर प्राकृतिक प्रकोपका अगाडि त्यो सुरक्षा प्रणाली अप्रयाप्त भएको र असफल भएको प्रमाणित भयो ।
फुकुशिमाको आणविक दुर्घटनापछि जापान र विश्वभरी नै आतंकको वातावरण फैलिएको थियो । त्यसपछि जापान सरकारले तुरुन्त आणविक संकटकालिन अवस्थाको घोषणा गरेको थियो । दुर्घटना भएको स्थानदेखि १२ किलोमीटर क्षेत्रमा वसोवास गर्ने जनतालाई त्यो ठाउँ छाड्न निर्देशन दिइएको थियो । त्यो स्थान देखि २० देखि ३० किलोमिटर आसपासका जनतालाई घरबाट बाहिर ननिस्कन निर्देशन दिइएको थियो । कैयौं देशहरुका सरकारहरुले आफ्ना देशका नागरिकहरुलाई टोकियो छाड्न निर्देशन दिएका थिए ।
कुनै पनि भूकम्प वा समुद्री आँधीहरु आएको केही समय पछि ती कुराहरु पुराना हुन्छन् । विश्व युद्धहरुबाट पुगेका क्षतिहरु केही समय पछि पुराना हुँदै गए । तर फुकुशिमाको दुर्घटना त्यसरी पुरानो भएर हराएर जाने कुरा होइन । त्यसबाट उत्पन्न आतंक भविष्यमा लामो समयसम्म रहने छ । त्यो घटनापछि आरणविक शक्तिबाट सम्भावित खतराको विरुद्ध गम्भीर छलफल सुरु भएको छ र तिनीहरुका विरुद्ध विश्वव्यापीरुपमा नै आवाज उठ्न थालेको छ । भारत, इटाली, जर्मनी, स्पेन, स्विटरजलैण्ड, ताइवान र स्वयं अमेरिकामा पनि आणविक खतराको विरुद्ध वा सबै आणविक भट्टिहरु बन्द गर्नुपर्ने मागहरुलाई लिएर ठूला ठूला विरोध कार्यक्रमहरु भएका छन् । तर यो अपसोचको कुरा हो कि आणविक शक्तिका विरुद्ध विश्वव्यापी रुपमा भएको हलचल वा विरोधका कार्यक्रमहरुबाट नेपाल वेखवर जस्तो छ र त्यसका विरुद्ध यहाँ कुनै कार्यक्रम हुने गरेको छैन । नेपालमा कुनै आणविक भट्टि छैन । तर आज आणविक शक्ति वा हतियारहरुका जुन विश्वव्यापी खतरा उत्पन्न भएको छ, त्यसबाट नेपाल पनि अलग रहन सक्दैन । त्यसकारण नेपालमा पनि त्यो प्रश्नलाई गम्भीर रुपमा लिनुपर्ने आवश्यकता छ ।
आणविक हतियारबाट गम्भीर प्रकारको धनजनको क्षति हुन सक्दछ भन्ने कुरा धेरैलाई थाहा छ । जापानको हिरोसीमा र नागासाकीमा ऐटम बमद्वारा पुगेको क्षति बारे आमरुपमा थाहा छ । तर आज आणविक हतियारहरुको जुन रुपमा विकास भएको छ, त्यसको सम्भावित दुष्परिणाम पहिलेभन्दा कैयौं गुणा बिनासकारी हुन सक्दछ । त्यसबाट सम्पूर्ण मानव जाति मात्र होइन, सम्पूर्ण प्राणी जाति नष्ट हुन तथा भविष्यमा पनि लामो समयसम्म त्यसको असर बनिरहने खतरा छ । अहिले संसार भरमा करिब २३,००० (तेइस हजार) भन्दा बढी भयानक आणविक हतियारहरु छन् । त्यो संख्या सम्पूर्ण मानव सभ्यता र प्राणी जगतलाई समाप्त गर्न आवश्यक पर्नेभन्दा कैयौं गुणा बढी छ । यसरी विद्यमान आणविक शक्ति सम्पूर्ण मानव जातिका लागि नै ठूलो र वास्तविक खतरा भएको छ र त्यसका विरुद्ध संघर्ष गर्नु अन्तर्राष्ट्रिय दायित्व भएको छ ।
जापानको हिरोसिमा र नागासाकीमा युद्धको समयमा प्रत्यक्ष रुपले एटम बमहरुको प्रयोग गरेर त्यहाँ ठूलो पैमानामा धनजनको क्षति भएको थियो । तर  फुकुशिमाको दुर्घटनाबाट सनीयत त्यसरी ती हतियारहरुको प्रयोग न भएपनि आणविक क्षतिबाट ठूलो क्षति पुग्ने कुरा अगाडि आएको छ । प्राकृतिक प्रकोपका कारणले त्यस्तो क्षति हुनसक्ने कुरा फुकुशिमाको दुर्घटनाबाट प्रष्ट भएको छ । त्यो बाहेक अन्य कैयौं कारणले पनि युद्ध नभएको बेलामा पनि आणविक खतराहरु अगाडि आउन सक्दछन् । मानवीय भूलका कारणले पनि आणविक शक्तिहरुमा विस्फोट भएर वा आणविक अतियारहरुको स्वचालित रुपले प्रयोग भएर त्यसबाट ठूलो क्षति पुग्न सक्ने सम्भावना बारे वैज्ञानिकहरुले बताउने गरेका छन् । आणविक हतियार वा सञ्चालनको प्रक्रिया काफी हदसम्म जस्तो कम्युटर प्रणालीमाथि आधारित छ । कैयौंपल्ट कम्युटरहरुले गर्ने गल्तिहरुबाट पनि आणविक खतराको सम्भावना रहन्छ । गत वर्षहरुमा कैयौंपल्ट झुट्टा  संकेत वा अलार्मका कारण आणविक हतियारहरु चल्ने स्थितिको सिर्जना भएको थियो । सञ्चार माध्यमहरुले त्यस प्रकारका कैयौं समाचारहरु प्रकाशित गर्ने गरेका छन् । आणविक शक्तिको कारणले विश्वको पर्यावरणमा पनि गम्भीर क्षति पुग्ने खतरा उत्पन्न भएको छ । त्यस प्रकारको खतरा वा जोखिमलाई कम गर्न वन आणविक हतियारको निर्माण वा तिनीहरुको संख्याको कटौती गर्न आणविक शक्ति सम्पन्न राष्ट्रहरुले कैयौं सम्झौताहरु गर्ने गरेका छन् । तर व्यवहारमा तिनीहरुलाई इमान्दारितापूर्वक लागू गरिन्न । त्यसरी समग्र रुपमा भन्न सकिन्छ, आणविक शक्तिका कारणले विश्वव्यापी रुपमा अत्यन्त ठूलो खतरा उत्पन्न भएको छ ।
उपरोक्त स्थिति माथि ध्यान दिंदै क्रान्तिकारी पार्टी र संगठनहरुको अन्तर्राष्ट्रिय कोआर्डिनेशन (क्ष्ऋइच्) र जनताको संघर्षको अन्तर्राष्ट्रिय लीग (क्ष्ीएक्) ले आणविक खतराका विरुद्ध र पर्यावरणको रक्षाका लागि संयुक्त रुपले अभियान चलाउने निर्णय गरेका छन् । त्यो अभियान विश्व वातावरण दिवस १ सेप्टेम्बर २०११ मा प्रारम्भ भएको थियो । आज विश्व फुकुशिया दिवसदेखि आणविक शक्तिबाट सम्भावित विश्वव्यापी खतराका विरुद्ध तथा पर्यावरणको रक्षाका लागि अन्तर्राष्ट्रिय स्तरमा हस्ताक्षर अभियान संचालन गर्ने कार्यक्रम छ । त्यसरी संकलन गरिएका हस्ताक्षरहरु  संयुक्त राष्ट्रसंघमा प्रस्तुत गरिने छन् । त्यस प्रकारको हस्ताक्ष्ँर संकलनको अभियान मुख्य रुपले यी मागहरुका पक्षमा गरिनेछ ः सबै आणविक भट्टिहरु बन्द गर† आणविक शक्तिहरुबाट पुग्ने क्षतिहरुका लागि सम्बन्धित देशहरुले पीडितहरुलाई क्षतिपूर्ति र उपचारको खर्च देउ† साम्राज्यवादीहरु नाफाखोर प्रवृत्तिबाट पर्यावरणको रक्षा गर†, सबै आणविक, जैविक र रासायनिक हतियारहरु माथि रोक लगाउ र नष्ट गर† प्राकृतिक पर्यावरणको रक्षाका निमित्त सक्रिय प्रतिरोधका लागि अन्तर्राष्ट्रिय मोर्चालाई सुदृढ गर आदि । आज सुरु भएको उक्त हस्ताक्षर अभियान अगस्त ६ हिरोशिमा दिवससम्म (२०६९ श्रावण २१ गतेसम्म) चल्नेछ ।
क्ष्ऋइच् र क्ष्ीएक् ले संयुक्त रुपले गरेको उक्त हस्तक्षर अभियानलाई समर्थन गर्दै आज नै राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर के.सी.ले एउटा वक्तव्य जारी गर्नुभएको छ । उहाँले देशभरका र विदेश पनि रहेका सबै नेपालीहरुलाई उक्त हस्ताक्षर अभियानमा सहयोग गरेर आणविक खतराका विरुद्ध र पर्यावरणको रक्षाका लागि अन्तर्राष्ट्रिय स्तरमा चलेको अभियानमा सहयोग गर्न अपील गर्नु भएको छ ।
त्यस अनुसार आज विश्व फुकुशिमा दिवसको दिनदेखि बढीभन्दा बढी संख्यामा उक्त अपीलमा हस्ताक्षर गरेर आणविक विश्वव्यापी खतरा तथा विश्व वातावरणको रक्षाका लागि चलेको अन्तर्राष्ट्रिय अभियानमा ऐक्यवद्धता प्रकट गर्न र त्यसलाई सफल पार्न योगदान दिन हामीले पनि तपाईहरु सबैसित अपील गर्दछौं ।
त्यसका साथै फुकुशिमा दिवसको अवसरमा हामीले यहाँ यो कुरामा जोड दिन चाहन्छौं कि आणविक शक्तिका विरुद्ध र पर्यावरणको रक्षाका लागि अन्तर्राष्ट्रिय रुपमा चलेको उक्त अभियानको नेपाल, नेपाली जनता र यहाँको पर्यावरणको पनि अभिन्न सम्बन्ध छ । त्यसकारण त्यो आन्दोलनमा बढीभन्दा बढी योगदान दिनु हामी सबैको कर्तव्य हुन्छ ।
अन्तमा आज यो कार्यक्रमा सामेल भएर विश्व फुकुशिमा दिवस सफल पार्न सहयोग गरेकोमा हामीले तपाईहरु सबैप्रति आभार प्रकट गर्न चाहन्छौं ।
धन्यवाद !
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal