rajamo
। । । । । । । । ताजा सामाचार
समाचार

संगठनात्मक समाचार
राष्ट्रिय जनमोर्चाको चुनावी कार्यक्रम सम्पन्न
सन्धिखर्क । राष्ट्रिय जनमोर्चा भूमिकास्थान नगरपालिकाले तय गरेको निर्वाचन बिशेष कार्यक्रम अन्तर्गत २०७४ जेठ २४ गते वडा नम्बर ९ ढिकुराको गैरागोठ, माइकाथान, रातापहरा र सैनडाँडामा घरदैलो तथा जन भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमलाई राजमो लुम्बिनी–राप्ती क्षेत्रीय उपाध्यक्ष शेर बहादुर बिसी र भूमिकास्थान नगरपालिकाकामा राजमोका मेयर पदका उम्मेद्धार कविराम खनालले सम्बोधन गर्नु भएको थियो । भूमिकास्थान–९, ढिकुरामा राजमोको अध्यक्ष पदका उम्मेदवार नारायण प्रसाद घिमिरेको अध्यक्षता, सदस्य लक्ष्मण केसीको स्वागत मन्तव्य र सुन्दरा रायमाझीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा राजमोका केन्द्रीय सल्लाहकार यमलाल पोख्रेल, जिल्ला सचिव गोपाल पौडेल, भूमिकास्थान नगरकी उपमेयर पदकी उम्मेदवार शकुन्तला राना, अखिल नेपाल उद्योग व्यापार सङ्घका दुर्गा प्रसाद खनाल, अखिल नेपाल युवक सङ्घका जिल्ला सहसचिव ठाकुर पन्थी र अखिल छैठौँका जिल्ला उपाध्यक्ष बिष्णु केसीको आतिथ्यता रहेको थियो ।

राजमो वार्ड कार्यालय उद्घाटन
कपिलवस्तु । स्थानीय तहको निर्वाचनमा कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिकामा राष्ट्रिय जनमोर्चाको चुनावी चहलपहल निकै बढेको छ । चुनावी प्रचारका क्रममा बाणगङ्गा नगरपालिकामा राजमोले २०७४ जेष्ठ २६ गते बाणगङ्गा नगरपालिका–५, झण्डामा चुनाव प्रचार प्रसारका लागि वार्ड कार्यालय एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । कार्यक्रममा चुनाव प्रचार प्रसार समितिका संयोजक तथा उपमेयर का उम्मेदवार दधिराम आचार्य, जातीय समता समाजका जिल्ला अध्यक्ष राम बहादुर नेपाली, युवक सङ्घका केन्द्रीय सदस्य शशि सापकोटा, वार्ड नम्बर ५ मा अध्यक्षका उम्मेदवार घन बहादुर चुदाली लगायतले सम्बोधन गर्नु भएको कार्यक्रम चेत नारायण पाण्डेको अध्यक्षता र युवराज आचार्यको सञ्चालनमा सम्पन्न भयको थियो ।
सोही दिन बाणगङ्गा नगरपालिका–४ गजेहडामा पनि चुनाव प्रचार प्रसार वार्ड कार्यालय एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यक्रममा राजमोका लुम्बिनी–राप्ती क्षेत्रीय सदस्य हिमलाल वाग्ले, चुनाव प्रचार प्रसार समितिका संयोजक तथा उपमेयरका उम्मेदवार दधिराम आचार्य, वार्ड नम्बर ४ अध्यक्षताका उम्मेदवार दल बहादुर कुँवर, प्रगतिशील पत्रकार सङ्घ कपिलवस्तुका अध्यक्ष माधव भाट क्षेत्रीले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन वार्ड नम्बर ४ मा सदस्यका प्रत्यासी चन्द्रकान्त भट्टराईले गर्नु भयको थियो भने अध्यक्षता राजमो बाणगङ्गा नगर अध्यक्ष डवल सिंह जिसीले गर्नु भयको थियो ।
यस अघि जेष्ठ २५ गते बाणगङ्गा नगरपालिका–८ चुनाव प्रचार प्रसार वार्ड कार्यालय एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । चुनाव प्रचार प्रसार समिति संयोजक दधिराम आचार्य, राजमो जिल्ला सदस्य हिमलाल वाग्ले, मेयर पदका उमेदवार लक्ष्मी भुसाल, नेकपा (मसाल) का जिल्ला प्रवक्ता छविलाल गैरे, प्रगतिशील पत्रकार सङ्घ कपिलवस्तुका अध्यक्ष माधव भाट क्षेत्रीले सम्बोधन गरेको कार्यक्रमको सञ्चालन ऋषिराम शर्मा र अध्यक्षता टङ्क जिसीले गर्नु भएको थियो ।
उक्त वडामा राजमोले अध्यक्षमा टङ्क जिसी, महिला सदस्यमा प्रेमकला खत्री, खुल्ला सदस्यमा गिर बहादुर केसी र हिमलाल न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । स्थानीय समस्याहरूसँग विगतका दिनहरूका जनताको साथमा रहेर काम गर्दै आएका व्यक्तिहरूलाई उम्मेदवार बनाएको राजमोले बताएको छ । नदी कटान, वनको संरक्षण, नदीमा हुने अवैध बालुवा गिट्टीको निकासीको रोकथाम, सिँचाइको समस्या वडाका चुनावी मुद्दाहरू रहेका छन् । यी मुद्दाहरूमा राजमोले सधैँ अग्रणी नेतृत्व गरी समाधानका लागि पहल गर्दै आएको हँुदा मतदाता आफ्नो पक्षमा रहेको राजमो बाणगङ्गा नगरपालिका–८ का अध्यक्षका उम्मेदवार टङ्क जिसीले दावी गर्नु भयको छ ।

राजमोद्वारा चुनावी अभियान जारी
बुटवल । असार १४ मा हुने दोश्रो चरणको निर्वाचनलाई केन्द्रित गरी राष्ट्रिय जनमोर्चाले रूपन्देहीमा चुनावी अभियानलाई तीव्र बनाएको छ । हरेक दिन भेला, पर्चा तथा पोस्टर बाड्ने, कोणसभाहरू गर्दै घरदैलो अभियानलाई निरन्तरता दिइएको छ । 
राजमोले सिद्वार्थनगर नगरपालिका भैरहवा, देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिका लगायत अन्य नगरपालिका र गाउँपालिकाहरूमा चुनावी अभियान सञ्चालन गर्दै आएको छ । चुनावी अभियान अन्तर्गत घरदैलो अभियान सञ्चालन गरेको राजमोले बुटवल उपमहानगरपालिकामा घरदैलो अभियानलाई निरन्तरता दिएको छ । 
केहीदिन अघिदेखि घरदैलो अभियानमा जुटेको राजमोले उपमहानगरपालिकाको १९ वटै वडामा घरदैलो गर्ने जनाएको छ । केही दिन अघि वडा नम्बर ६ बाट घरदैलो अभियान सञ्चालन गरिएको थियो । वडा नम्बर ६ बाट घरदैलो अभियान सञ्चालन गरेपछि महानगरपालिकाको वडा नम्बर ३, २, ४, १२ र १४ मा छुट्टाछुट्टै टोल बनाएर घरदैलो चलाएको छ । त्यस्तै महानगरपालिकाको अन्य वडामा पनि घरदैलो गरिने घरदैलो अभियानका अगुवा पदम श्रेष्ठले जानकारी गराउनु भयो । त्यस्तै, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा पनि चुनावी अभियान अन्तर्गत घरदैलो तथा जभेटघाट र कोणसभाहरू गरिएको छ ।
राजमो ढोरवाङ टोल समिति गठन
रुन्टीगटी गाउँपालिकाको ढोरवाङमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ । जेष्ठ १९ गते सम्पन्न भेलाले भिमसरा पुन रोकाको अध्यक्षतामा समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा खिमसरा रोका, सचिवमा नुखिसरा घर्ती मगर र कोषाध्यक्षमा कमला खड्का चयन हुनु भएको छ । त्यसै गरी सदस्यहरूमा बुद्धिराम रोका, देवा रोका र मित्रलाल खड्का रहनु भएको छ । 
राजमो सेउलीवाङ्मा समिति गठन
रुन्टीगटी गाउँपालिकाको सेउलीवाङमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ । जेष्ठ १९ गते सम्पन्न भेलाले लक्ष्मी प्रसाद रोकाको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा राज कुमार रोका, कोषाध्यक्षमा बेगम बहकरी र सचिवमा टेक बहादुर विक चयन हुनु भएको छ । समितिको सदस्यहरूमा केशर बहादुर खड्का, शोभाराम खड्का, धनवीर रोका, नरवीर घर्ती मगर र सावित्रा खड्का रहनु भएको छ भने सल्लाहकारमा कमान सिंह पुन मगर र शशिराम विक चयन हुनु भएको छ । 
राजमो ढावन टोल समिति गठन
रुन्टीगटी गाउँपालिका अन्तर्गत ढावनमा पनि राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ । जेष्ठ २० गते सम्पन्न एक भेलाले नरवीर कवर मगरको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा भोज बहादुर खड्का, कोषाध्यक्षमा गोपाल खड्का र सचिवमा मान सिंह खड्का चयन हुनु भएको छ । त्यसै गरी सदस्यहरूमा धनमाया पुन मगर, खुमा पुन मगर र राम प्रसाद खड्का रहनु भएको छ । सल्लाहकारहरूमा चित्र बहादुर खड्का र जङ्ग बहादुर पुन मगर चयन हुनु भएको छ । 
साउलीवाङमा सभा
राष्ट्रिय जनमोर्चाले साउलीवाङ्मा सभा सम्पन्न गरेको छ । २०७४ जेष्ठ १९ गते सम्पन्न सभाको अध्यक्षता राजमो झेनाम गाउँ समितिका सदस्य कमान सिंह पुन मगरले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि जनजाति सम्मेलनका केन्द्रीय कोषाध्यक्ष लाल बहादुर राना रहनु भएको थियो भने वक्ताहरू राजमोका जिल्ला सल्लाहकार हस्तमणि पुन, रुन्टीगटी गाउँपालिका–८ का सदस्य पदका उम्मेदवार राम बहादुर बस्नेत र दलित महिला सदस्य पवित्रा विक रहनु भएको थियो ।
राजमो झेनाम गाउँ समितिका सदस्य सर्जना बहकरीको सञ्चालनबाट अगाडि बढेको कार्यक्रममा अखिल नेपाल युवक सङ्घ, झेनाम गाउँ समितिका सचिव टेक बहादुर विकले स्वागत गर्नु भएको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका जिल्ला कलाकार बशन्ता पुन मगर, हिमा बुढा मगर, कमला पुन मगर र हेमसरा पुन मगरले जोशिला नृत्य तथा गीत प्रस्तुत गरेका थिए । 
डोटीमा चुनावी अभियान तीव्र
सिलगढी । राष्ट्रिय जनमोर्चा डोटीको अयोजनामा २०७४ असार १४ गते हुन गैरहेको दोस्रो चरणको स्थानीय तह निर्वाचनको चुनावी अभियानलाई जिल्लाका विभिन्न स्थानमा तीव्र रूपमा अगाडि बढाई रहेका छन् । चुनावी अभियान अन्तर्गत केआई सिंह गाउँपालिकाको वडा नं. ४, २, १, ५, ३, ६ र ७ मा व्यापक घरदैलो कर्यक्रम सञ्चालन गरिएको छ । 
दिपायल सिलगढी नगरपालिकाको दिपायल, सिलगढी, राजपुर र यर्पोट बजारमा व्यापक प्रचार प्रसार र घरदैलो कार्यक्रम सञ्चालन भई रहेको छ । आदर्श गाउँपालिकाको साविक लानिखाल गाउँपालिका, देहिमाडौँ, चोराइल गाउँपालिकाको साविक छतिवन, घन्तेश्वर, गणशेरा, निरौली, लक्ष्मीनगरका सम्पूर्ण वडाहरूको घरदैलो कार्यक्रम सम्पन्न भई सरस्वतीनगर गाविसमा घरदैलो सञ्चालन भई रहेको छ । चुनावी अभियानलाई व्यवस्थित बनाउनका लागि बोक्तान गाउँपालिकाको निर्वाचनसम्बन्धी सम्पर्क कार्यालयको उद्घाटन भएको छ ।
२०७४ जेठ २५ गते सम्पन्न कार्यालयको उद्घाटन राजमोका स्थानीय नेता हेम विक्रमले गर्नु भएको थियो । त्यसै गरी राजमो जिल्ला सहसचिव डबल बोगटीको संयोजकत्वमा ७० जना युवाहरूको टोलीले केआई सिंह गाउँपालिकामा निरन्तर प्रचार प्रसार तथा घरदैलो कार्यक्रम सञ्चालन गरी रहेको राजमोका केन्द्रीय सदस्य मनोज भट्टले जानकारी दिनु भएको छ ।
कञ्चनपुरमा राजमोको चुनावी अभियान तीव्र
भिमदत्त नगर । आगामी असार १४ गते हुन गई रहेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनको तयारी तीव्र रूपमा अघि बढेको राजमो कञ्चनपुरले जनाएको छ ।
चुनाव प्रचारका क्रममा यही जेष्ठ २७ गते भीमदत्त नगरपालिकामा मोटर साइकल र्‍याली तथा सभाहरू सम्पन्न भएका छन् । सभालाई राजमोका महासचिव जनक राज शर्माले सम्बोधन गर्नु भएको थियो । यस्तै, भीमदत्त नगरपालिकाका मेयर पदका उम्मेदवार मञ्जु परिवार, उपमेयर पदका उम्मेदवार नरेन्द्र प्रसाद जोशी, राजमो पूर्व जिल्ला सचिव लाल बहादुर कुँवर लगायत नेताहरूले सम्बोधन गर्नु भएको थियो ।
कञ्चनपुरमा अन्य पार्टीहरूले महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउन नसकेको अवस्थामा राजमोले भिनपामा मञ्जु परिवारलाई मेयरको उम्मेदवार बनाएको छ । भिमदत्त नगरपालिकाका विभिन्न वडाहरू ब्रह्मदेव, खल्लामच्छेडी, भुजेला, उल्टाखाम लगायतका स्थानमा राजमोले घरदैलो गरी रहेको राजमो नेता लाल बहादुर कुँवरले जानकारी दिनु भयो ।
जिल्लाको दक्षिणी भेग बेलौरी नगरपालिकामा मेयर राजाराम चौधरी र उपमेयर तारादेवी चौधरी सहितको टोलीले घरदैलो अभियान सञ्चालन गरी रहेको छ । यस्तै, बेलौरी नगरपालिका–३ का अध्यक्ष पदका उम्मेदवार कुँवर बहादुर चौधरी, ४ का रामेश्वर न्यौपाने, ६ का सहवीर सुनार, ९ का राज कुमार चौधरी, ७ का रमा नेपालीले पनि घरदैलो कार्यक्रम सञ्चालन गरिएको मेयर पदका उम्मेदवार राजाराम चौधरीले जानकारी दिनु भयो ।
पुनर्वास नगरपालिकामा मेयर पदका उम्मेदवार हरि लम्सालको नेतृत्वमा पनि विभिन्न कार्यक्रम भई रहेको वडा नं. ८ का वडा सदस्य पदका उम्मेदवार टेकनाथ दाहालले बताउनु भयो ।
डडेलधुरामा पनि प्रचार प्रसार जारी
अमरगढी । निर्वाचन तयारीको सिलसिलामा डडेलधुराका सबै गाउँ तथा नगरपालिकामा उम्मेदवार उठाएर प्रचार प्रसारलाई तिव्रता दिइएको राजमो केन्द्रीय सदस्य लाल बहादुर जाग्रीले जानकारी दिनु भयो ।
नवदुर्गा गाउँपालिका प्रमुख पदका उम्मेदवार पदम बहादुर ओली र उपप्रमुख पदका उम्मेदवार मन्छोदरी ओलीले घरदैलो अभियानलाई तिव्रता दिनु भएको छ । सोही गाउँपालिका–१ का अध्यक्ष उद्धव सिंह ऐर, २ नं. का गौतम खत्री, ३ नं. का मान बहादुर ऐर, ४ नं. का टीका कैनी, ६ नं. का खडक विक लगायतका उम्मेदवारहरूले घरदैलो अभियान जारी राख्नु भएको थियो ।
यस्तै, परशुराम नगरपालिका–१ का वडा अध्यक्ष पदका उम्मेदवार रघुवीर विक, ४ नं. का रामदत्त भट्ट, ५ नं. का चन्द्रदेव विक, ६ नं. का जङ्ग बहादुर जाग्री, ७ नं. का हेमनाथ र ८ नं. का गणेश जाग्री, ९ नं. का फागुसिंह महता, १० नं. का चन्द्र बहादुर विक, १२ नं. का रघुवीर धामीले पनि घरदैलो, जन भेटघाट लगायत चुनाव प्रचारका कार्यक्रमलाई तिव्रता दिनु भएको छ ।
दैलेखको राजमोको क्षेत्रीय भेला सम्पन्न 
दैलेख । राष्ट्रिय जनमोर्चा क्षेत्र नम्बर २ दैलखेको क्षेत्रीय भेला सम्पन्न भएको छ । २०७४ जेष्ठ २७ गते पार्टी कार्यालयमा भएको भेलामा राजमोकोतर्फबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार तथा पार्टीका निकट सङ्गठनका प्रमुखहरूको उपस्थितिमा थियो । 
भेलाले क्षेत्र नम्बर २ मा पर्ने नारायण नगरपालिका, दुल्लू नगरपालिका, महाबु गाउँपालिका र भैरबी गाउँपालिकामा राजमोको सङ्गठन विस्तार गर्ने निर्णय गरेको छ । यसै गरी भेलाले जनवर्गीय सङ्गठनहरूको सङ्गठन विस्तार गर्ने, आगामी दिनहरूका जिल्लाका नगर÷गाउँपालिकामा भेलाहरू गर्ने समेत निर्णय गरेको छ । स्थानीय निर्वाचनमा भएका सम्पूर्ण त्रुटिहरूलाई आत्मसात गर्ने निर्णय भएको बताइएको छ । भेलामा राजमोका जिल्ला अध्यक्ष अम्बर बहादुर नेपाली लगायतले सम्बोधन गर्नु भएको थियो । 
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal