rajamo
। । । । । । । । ताजा सामाचार
घोषणा पत्र / विधान
राष्ट्रिय जनमोर्चाको विधान
प्रस्तावना
आज देशमा अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक व्यवस्था छ। त्यसले गर्दा नेपाली जनताको सामाजिक, आर्थिक अवस्था अत्यन्त दयनीय बनेको छ। हाम्रो देश एकातिर, शताब्दियौं देखिको सामन्ती व्यवस्था तथा राजतन्त्र र, अर्कातिर, विदेशी साम्राज्यवादी र विस्तारवादी शक्तिहरूबाट बाह्य रूपमा उत्पीडित र अपहेलित छ। त्यो अवस्थामा आमूल परिवर्तन नभैकन देशमा वास्तविक अर्थमा जनतन्त्रको स्थापना, राष्ट्रियताको रक्षा, राष्ट्रिय उद्योग तथा कृषिको विकास, मजदूर, किसान, महिला, दलित, जनजाति, अल्पसंख्यक पिछडिएका 73ँेत्र, प्रवासी नेपाली सहित विभिन्न जनवर्ग र जनस्तरका समस्याहरूको समाधान नभईकन उनीहरूका अवस्थामा सुधार सम्भव छैन। पूँजीवादी संसदीय प्रणाली अन्तर्गत ती उद्देश्यहरू पूरा हुन नसक्ने कुरा विश्व र नेपालका अनुभवबाट पनि प्रमाणित भैसकेको छ र त्यसका लागि नयाँ जनवादी व्यवस्थाको स्थापना आजको आधारभूत र ऐतिहासिक आवश्यकता हो। तैपनि विद्यमान आर्थिक, राजनैतिक व्यवस्थाको सीमाभित्र पनि राजतन्त्रको अन्त गरेर गणतन्त्रको स्थापना, अधिकतम राजनैतिक स्वतन्त्रता वा जनताका हित र अधिकारहरू सुनिश्चित गर्नका लागि जनताको व्यापक रूपमा परिचालन गर्नुपर्ने वा संघर्ष गर्नुपर्ने आवश्यकता छ। सबै शोषित उत्पीडित, मेहनतकश जनता, देशभक्त जनतान्त्रिक र वामपंथी शक्तिहरूलाई संगठित, एकतावद्ध र सक्रिय पारेर उपरोक्त उद्देश्यहरू पूरा गर्नु नै राष्ट्रिय जनमोर्चाको उद्देश्य हो। त्यो संगठन परिचालनका लागि तल लेखिए अनुसार विधान बनेको छ : 

भाग–१
संगठनको नाम, परिभाषा, झन्डा र छाप
धारा–१ :  नाम
यस संगठनको नाम राष्ट्रिय जनमोर्चा रहने छ। अंग्रेजीमा ल्बतष्यलब िएभयउभिुक ँचयलत हुनेछ। छोटकरीमा नेपालीमा रा.ज.मो. र अंग्रेजीमा ल्एँ भनिने छ।

धारा–२ :  कार्यालय
संगठनको केन्द्रीय कार्यालय काठमान्डौ उपत्यकामा रहने छ।

धारा–३ :  परिभाषा
(क) “संगठन” भन्नाले राष्ट्रिय जनमोर्चालाई जनाउँछ।
(ख) “सदस्य” भन्नाले रा.ज.मो.को साधारण सदस्य सम्झनु पर्दछ।
(ग) “समिति” भन्नाले यो विधान अन्तर्गत संगठित कुनै पनि तहको कार्यकारिणी समितिलाई जनाउनेछ।
(घ) “पदाधिकारी” भन्नाले समितिका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षलाई सम्झनुपर्छ।
(ङ) “निर्धारित” वा “निर्धारित गरिए बमोजिम” भन्नाले यस विधान अन्तर्गत बनेको नियम, विनियम र निर्देशिकाले निर्धारण गरेको कुरा सम्झनु पर्छ।

धारा–४ :  झन्डा
गाढा रातो रंगको पृष्ठभूमि १.५215ः१ अनुपातको लम्बाई चौडाई रहेको संगठनको झन्डा हुनेछ। त्यसमा माथितिर बाँयाँ पट्टी कुनामा चन्द्राकारमा ३ वटा ताराहरू रहनेछन्। त्यसको तल दायाँ पट्टि ४५ डिग्रीको कोणमा ताराहरूतिर लक्षित दायाँ हातको कसिएको मुट्ठी रहनेछ।

धारा– ५ :  छाप
संगठनको छाप गोलाकारको हुनेछ। यस भित्र राष्ट्रिय जनमोर्चा, केन्द्रीय कार्यालय रहनेछ र सबै सांगठनिक तहमा पनि त्यसको उल्लेख गरिने छ। अंग्रेजीमा छाप बनाउनु परेमा सोही अनुरूप हुनेछ।

भाग–२
सदस्यता
धारा–६ :  सदस्यता
१. राष्ट्रिय जनमोर्चाको विधान र घोषणापत्रलाई पालन गर्ने १६ वर्ष उमेर पुगेका नेपाली नागरिक यसको सदस्य बन्न सक्नेछन्।
२. सदस्यताका लागि वार्षिक शुल्क रू. १/– लाग्ने छ।

ध्ारा–७ :  सदस्यको काम कर्त्तव्य र अधिकार
१. संगठनको अडान, भावना र नीति अनुकूल आफूलाई अघि बढाउनु।
२. जनवादी केन्द्रीयता, अनुशासन र संगठनको गोप्यताको सुरक्षा गर्नु।
३. प्रतिक्रियावादी क्रियाकलाप प्रति सजग र सतर्क रहनु तथा तिनका गतिविधिबारे जनतालाई निरन्तर सचेत पार्नु।
४. पूरानो समाजको कलुषित, रूढीवादी र गलत विचार धारालाई हटाउनु, मनोगतवाद र उदारवादको विरोध गर्नु तथा निरंकुश र उच्छृंखल आलोचनाबाट बच्नु।
५. खराब कामहरूका विरूद्ध लड्ने साहस हुनु र सामन्ती तथा पूँजीवादी मूल्य, मान्यता विरूद्ध संघर्ष गर्दै श्रमजीवी नैतिक मूल्य मान्यताहरूद्वारा समृद्ध बन्न प्रयास गर्नु।
६. महिला, पुरूष बीच भेदभाव गरिने सामन्ती संस्कार समाप्त पार्न प्रयत्नरत रहनु र महिलालाई पुरूष सरह समान अधिकार दिलाउन प्रयत्न गर्नु।
७. सबै प्रकारका सामन्ती प्रचलन, कुरीति, अन्धविश्वास र छुवाछुत प्रथालाई समाप्त पार्न प्रयत्नरत रहनु।
८. संगठनका हरेक सदस्यलाई संगठनका बैठक, भेला, सम्मेलनमा सहभागी बन्ने, छलफलहरूमा भाग लिने वा चुन्ने र चुनिने अधिकार रहने छ।

धारा–८ :  अनुशासन सम्बन्धी कारवाहीको व्यवस्था
१. संगठनको उद्देश्य, नीति र विधानको उल्लंघन गर्ने कुनै पनि सदस्य र समितिलाई अनुशानको कार्वाही गर्न सकिनेछ। केन्द्रभन्दा तलका समितिहरूले आफ्ना सदस्यहरूलाई कार्वाही गरेपछि अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउनु पर्नेछ। कार्वाहीको अवधि र अन्य नियम निर्धारित गरिए बमोजिम हुनेछ।

२. अनुशासनको प्रणाली निम्नानुसार हुनेछ : 
(क) आलोचना गर्नु 
(ख) स्पष्टीकरण माग्नु
(ग) चेतावनी दिनु
(घ) संगठनबाट निलम्बन गर्नु
(ङ) निष्काशन गर्नु
(च) समितिको विघटन गर्नु

३. अनुशासनको कार्वाहीमा परेको सदस्य वा समितिले कार्वाही सम्बन्धमा चित्त नबुझेको खन्डमा माथिल्लो समितिमा पुनरावेदन गर्न सक्नेछ।

४. कुनै पनि प्रकारको अनुशासनको कार्वाही गर्दा सम्बन्धित व्यक्ति वा समितिलाई स्पष्टिकरणको मौका दिइने छ।

५. सदस्यताबाट निलम्बन गर्नुपर्ने स्थिति भएमा सम्बन्धित समितिको साधारण बहुमतले बढिमा ६ महिनाका लागि निलम्बन गर्न सक्नेछ। त्यसभन्दा बढी अवधिका लागि निलम्बन गर्नु परेमा माथिल्लो समितिबाट अनुमोदन लिएर मात्र थप गर्न सकिनेछ।

६. केन्द्रीय समितिका सदस्यलाई सदस्यताबाट निष्काशित गर्नु परेमा वा पदीय जिम्मेवारीबाट हटाउनु परेमा केन्द्रीय समितिको बहुमतले यस्तो निर्णय गर्न सक्नेछ।

७. केन्द्रीय समितिको सदस्यलाई सो केन्द्रीय समितिको सदस्यता वा साधारण सदस्यता दुबैबाट निलम्बन गर्नु परेमा केन्द्रीय समितिको साधारण बहुमतले बढीमा ६ महिनाका लागि निलम्बन गर्न सक्नेछ।

८. समितिहरू निलम्बन गर्नु परेमा माथिल्लो समितिले बढीमा ६ महिनाका लागि निलम्बन गर्न सक्नेछ। निलम्बन गर्दा उक्त समितिको कार्यभार स्वयं माथिल्लो समितिले सम्भाल्नु पर्नेछ।

९. कुनै निर्वाचित समितिलाई भंग गर्नु परेमा सम्बन्धित तहको भेला वा सम्मेलनले मात्र गर्न सक्नेछ। सो भेला वा सम्मेलनको आयोजना सम्बन्धित समिति वा माथिल्लो समितिले गर्नेछ।

१०. धारा–८ मा अन्यत्र जुनसुकै लेखिएको भएता पनि कुनै सदस्य, पदाधिकारी वा जिल्ला एवं स्थानीय समितिले संगठनको विधान र उद्देश्य विरूद्ध खुलेर लागेमा वा विरोधी संगठनसंग आबद्ध भएका सदस्यको हकमा सम्बन्धित समितिले र समितिको हकमा माथिल्लो समितिले सोझै कारवाही गर्नेछ।

धारा–९ :  सदस्यता समाप्त हुने अवस्था 
१. राजीनामा दिएमा 
२. मृत्यु भएमा
३. अनुशासन उल्लंघन गरी संगठनबाट निष्काशित भएमा
४. मानसिक असन्तुलन भएमा

भाग–३
संगठनात्मक सिद्धान्त र स्वरूप
धारा–१० :  संगठनात्मक सिद्धान्त 
१. जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त अनुसार रा.ज.मो.ले आफ्नो संगठनात्मक काम कार्वाहीहरू संचालन गर्नेछ।

२. संगठनको काम कार्वाहीमा जनवादी केन्द्रीयताका निम्न सिद्धान्त पालना गरी कार्य गरिने छ।
(क) सकेसम्म सहमतिका आधारमा र मत भिन्नता भएमा बहुमतकाआधारमा बैठकहरूमा निर्णय लिइनेछ।
(ख) संगठन भित्र छलफलको स्वतन्त्रता र कार्यमा एकताको नीति अवलम्बन गरिनेछ।
(ग) सदस्यले समितिको निर्णयलाई, अल्पमतले बहुमतको निर्णयलाई, तल्लो समितिले माथिल्लो समितिको निर्णयलाई र सम्पूर्ण संगठनले केन्द्रीय समिति र राष्ट्रिय सम्मेलनको निर्णयलाई मान्नु पर्नेछ।
(घ) व्यक्ति र समिति सबैले आफ्नो मत भिन्नता संगठन भित्र आफ्नो तहको सम्बन्धित समिति वा माथिल्लो तहमा खुलस्त राख्न पाउनेछन्।
(ङ) सबै समितिहरूको कार्यप्रणाली सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारीका आधारमा संचालन गरिनेछ।
(च) तल्ला समितिहरूले माथिल्ला समितिलाई निरन्तर आफ्ना काम कार्वाही बारे प्रतिवेदनका साथै सुझाव र राय पठाउनेछन्। नेतृत्वदायी समितिहरूले पनि तल्ला संगठन र सदस्यहरूको अनुभव र विचार र आलोचनालाई समुचित ध्यान दिई नीति निर्णयहरू निर्धारण गर्नु पर्नेछ र तल्लो तहका समितिहरूलाई संगठनको गतिविधिको आवश्यक जानकारी गराउनु पर्नेछ।

धारा–११ :  संगठनात्मक स्वरूप
१. राष्ट्रिय जनमोर्चाको संगठनात्मक स्वरूप तीन तहको हुनेछ : 
(क) केन्द्रीय
(ख) क्षेत्रीय 
(ख) जिल्ला स्तरीय

२. केन्द्रीय स्तरका समितिमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव पदाधिकारी र राष्ट्रिय सम्मेलनले तोकेको संख्यामा सदस्यहरू रहनेछन्। केन्द्रमा आवश्यकतानुसार बढीमा पाँचजना उपाध्यक्ष र बढीमा २ जना सचिव राख्न सकिनेछ। स्थानीय स्तरका समितिहरूमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष मध्ये जिल्ला सम्मेलनले तोकेको संख्यामा पदाधिकारी वा सदस्यहरू रहनेछन्।

३. संगठनको सबै तहका समितिहरूमा महिलाहरू राखिनु अनिवार्य हुनेछ। दलित, जनजाति, आदिलाई पनि सम्भावना भए अनुसार समितिमा राख्न पहल गर्नुपर्दछ।

धारा–१२ :  राष्ट्रिय सम्मेलन 
रा.ज.मो. को सर्वोच्च अंग राष्ट्रिय सम्मेलन हुनेछ। राष्ट्रिय सम्मेलन ४ वर्षमा एक पटक हुनेछ। विशेष स्थितिमा त्यो अवधि कम वा वेसी पनि हुन सक्नेछ। प्रथम राष्ट्रिय सम्मेलन नभएसम्मका लागि रा.ज.मो. को केन्द्रीय संगठन समितिले सर्वोच्च निकायका रूपमा काम गर्नेछ। 

धारा–१३ :  राष्ट्रिय सम्मेलनको कर्त्तव्य
१. केन्द्रीय समितिद्वारा प्रस्तुत दस्तावेजहरू छलफल गरी आवश्यक संसोधन सहित पारित गर्नु।
२. विधानमा संशोधन एवं हेरफेर गर्नु।
३. विगतको कार्यविधिको काम कार्वाहीको समीक्षा गर्नु, तिनलाई स्वीकृत अस्वीकृत दिनु एवं आगामी कार्यावधीका लागि नीति र कार्यक्रम तयार पार्नु।
४. संगठनको आय–व्ययको हिसाब बारे छलफल गरी निर्णय लिनु।
५. नयाँ केन्द्रीय समितिको निर्वाचन गर्नु।

धारा–१४ :  केन्द्रीय समिति
१. यस विधानमा अन्यत्र जेसुकै लेखिएको भएता पनि प्रथम राष्ट्रिय सम्मेलन नहुन्जेल काम गर्ने संगठनको सर्वोच्च अंग केन्द्रीय संगठन समिति हुनेछ।
२. राष्ट्रिय सम्मेलनले केन्द्रीय समितिको निर्वाचन गर्नेछ। केन्द्रीय समितिको सदस्य संख्या राष्ट्रिय सम्मेलनले निर्धारित गरे बमोजिम हुनेछ। केन्द्रीय समितिका पदाधिकारीहरू र सदस्यहरू राष्ट्रिय सम्मेलनद्वारा निर्वाचित केन्द्रीय समितिको बैठकबाट चयन गरिने छन्।
३. केन्द्रीय समितिको नियमित कार्य संचालन गर्न केन्द्रीय समितिले निर्वाचित गरेको एक सचिवालय रहने छ। जसमा अध्यक्ष, महासचिव, कोषाध्यक्ष अनिवार्य रूपले र केन्द्रीय समितिले आवश्यक ठहर्‍याएका अन्य सदस्यहरू समेत रहनेछन्।
४. राष्ट्रिय सम्मेलनद्वारा केन्द्रीय समितिको निर्वाचन नहुँदासम्म केन्द्रीय संगठन समितिले अधिकार र कर्त्तव्य केन्द्रीय समिति सरह हुनेछ।

धारा–१५ :  केन्द्रीय समितिको काम, कर्त्तव्य र अधिकार
१. संगठनको कार्य संचालन गर्नु, राष्ट्रिय सम्मेलनद्वारा पारित नीति निर्देशन र निर्णयहरू कार्यान्वयन गर्नु, मातहतका संगठनहरूलाई आवश्यक निर्देशन र रेखदेखगर्नु तथा राष्ट्रिय अन्तर्राष्ट्रिय सवालबारे फैसलागर्नु।
२. राष्ट्रिय सम्मेलनका लागि दस्तावेजहरू तयार पार्नु र तिनलाई छलफलमा पठाउनु।
३. राष्ट्रिय सम्मेलनको आयोजना गर्नु।
४. एक तिहाई जिल्ला समितिहरूले माग गरेको खन्डमा नियमित राष्ट्रिय सम्मेलन भन्दा अगाबै र माग गरिएको मितिले ६ महिना भित्र राष्ट्रिय सम्मेलन बोलाउनु।
५. राष्ट्रिय सम्मेलनमा नयाँ केन्द्रीय समितिको नामावली प्रस्तुत गर्नु।
६. संगठनका निम्ति आवश्यक समिति र विभागहरू गठन गर्नु।
७. केन्द्रीय समितिको बैठक वर्षमा कम्तीमा दुई पटक बस्नु अनिवार्य हुनेछ।
८. सम्बन्धित तहको भेला वा सम्मेलनद्वारा निर्वाचित कुनै समिति कुनै कारणले अल्पमतमा पर्न गएमा स्वतः विघटन हुनेछ र संगठन समितिमा बदलिनेछ।

धारा–१६ :  सल्लाहकार समिति
केन्द्रमा केन्द्रीय समितिलाई सल्लाह दिनका लागि एउटा सल्लाहकार समिति हुनेछ। सल्लाहकार समितिको सदस्यहरूको संख्या केन्द्रीय समितिले तोक्नेछ र उनीहरूलाई मनोनयन पनि केन्द्रीय समितिले नै गर्नेछ। केन्द्रीय सल्लाहकार समितिले आफ्ना बीचबाट अध्यक्ष र सचिव निर्वाचन गर्न सक्नेछ।

धारा–१७ :  क्षेत्रीय समिति
केन्द्र र जिल्ला समितिको बीचको कामको समन्वय गर्न क्षेत्रीय समितिको गठन गर्न सकिने छ। तिनीहरूको मनोनयन वा पुनर्गठन आवश्यकतानुसार केन्द्रीय समितिले गर्न सक्नेछ। क्षेत्रीय समिति अञ्चल स्तरमा वा आवश्यकतानुसार एक भन्दा बढी अञ्चलहरूलाई मिलाएर पनि गर्न सकिने छ।

धारा–१८ :  जिल्ला समिति
जिल्ला स्तरीय भेला वा सम्मेलनले निर्धारित गरेको सदस्य संख्या भएको एक जिल्ला समितिको निर्वाचन गर्नेछ। निर्वाचित समितिले आफू मध्येबाट पदाधिकारीको चयन गर्नेछ। जिल्ला समितिको बैठक घटिमा वर्षको ४ पटक बस्ने छ। जिल्ला समितिले केन्द्रीय समितिको नीति निर्देशनमा रही कार्य गर्नेछ र मातहतका समितिलाई आफूले पनि नीति निर्देशन दिनेछ।

धारा–१९ :  जिल्ला सम्मेलन
हरेक २ वर्षमा जिल्ला सम्मेलन हुनेछ। आवश्यकतानुसार त्यो अवधि कम वा बढी पनि हुनसक्नेछ। जिल्ला सम्मेलनको आयोजना जिल्ला समितिले गर्नेछ। 

धारा–२० :  स्थानीय समिति
जिल्ला समिति र जिल्ला समिति भन्दा तलका समितिहरूलाई स्थानीय समिति भनिने छ। जिल्ला समिति भन्दा तल आवश्यकतानुसार एरिया समिति, गाउँ समिति र वडा समिति रहनेछन्। नगर क्षेत्रमा नगर समिति, वडा समिति र टोल समितिहरू हुनेछन्।

धारा–२१ :  स्थानीय समितिका काम, कर्त्तव्य र अधिकार
स्थानीय समितिका काम, कर्त्तव्य र अधिकार देहाय बमोजिम हुनेछ।
(क) जनतासंग प्रत्यक्ष वा घनिष्ट सम्बन्ध राख्नुका साथै उनीहरूको राय, सुझाव र समस्याहरू संचालन गर्नु।
(ख) उनीहरूका समस्या समाधानका निमित्त हमेशा प्रयत्नरत रहनु।
(ग) जनसमुदाय र प्रतिक्रियावादीहरू बीच चल्ने अन्तरविरोध र संघर्षका बारेमा संगठनका सदस्य र विशाल जनसमुदायलाई विचारधारात्मक शिक्षा दिनु, प्रतिक्रियावादीका राजनैतिक सिद्धान्त, विचार र गतिविधिहरूका बारेमा सचेत पार्नु र तिनीहरूका विरूद्ध मिल्नसक्ने जतिलाई साथमा लिई संघर्ष चलाउनु।
(घ) संगठन भित्रका सदस्यहरूको उत्साह, आत्मविश्वास र मनोबललाई सेलाउन नदिई निरन्तर बढाउँदै लैजानका लागि विचारधारात्मक संघर्ष चलाउनका लागि प्रयत्नशील रहनु, उनीहरूको सैद्धान्तिक चेतनाको स्तर उठाउन आवश्यक पुस्तकालय, शिक्षा, प्रवचन र पत्रपत्रिकाहरूको प्रबन्ध मिलाउनु।
(ङ) संगठनमा नयाँ सदस्यहरू बनाउनु, शुल्क उठाउनु, संगठनलाई सुदृढ बनाउनु र संगठनको अनुशासनको परिचालन गर्नु।
(च) संगठनको साहित्य र अखबारको विक्री वितरण र हिसाबको व्यवस्था गर्नु।
(छ) केन्द्रीय समितिले पठाएको नीति, निर्देशन र निर्णयहरूलाई कार्यान्वयन गर्नु र आफूले प्राप्त गरेको अनुभव, सुझाव, सल्लाह र रिपोर्ट केन्द्रमा पठाउनु।

धारा–२२ :  केन्द्रीय पदाधिकारी र सदस्यहरूको काम, कर्त्तव्य र अधिकार
केन्द्रीय पदाधिकारी र सदस्यहरूले केन्द्रीय समितिले तोकेको काम, कर्त्तव्य र अधिकार प्रयोग गर्नेछन्।

धारा–२३ :  निर्वाचन प्रक्रिया
१. सबै स्तरको भेला वा सम्मेलनमा पुरानो कार्यसमितिले नामावली प्रस्तावित गर्नेछ। त्यसपछि सम्बन्धित भेला वा सम्मेलनले त्यसमा प्रस्तावित सूचीलाई यथावत अनुमोदन गर्न, आंशिक परिवर्तन गर्न र पूरै परिवर्तन गर्न सक्नेछ।
२. संगठनका पदाधिकारी एवं सदस्यहरूको निर्वाचन खुला वा गोप्य मतदानद्वारा गर्न सकिने छ।
३. निर्वाचनको अन्य प्रक्रिया केन्द्रीय समितिले निर्धातिर गरे बमोजिम हुनेछ।

भाग–४
कोष तथा लेखा परिक्षण
धारा–२४ :  कोषको व्यवस्था 
संगठनको एक आर्थिक कोष हुनेछ। कोषमा सदस्यता शुल्क र सहयोग एवं अन्य आर्जनद्वारा प्राप्त रकम रहनेछ। कोष बैंकमा रहने छ र अध्यक्ष र कोषाध्यक्षको संयुक्त हस्ताक्षरबाट बैंक कारोबार संचालन हुनेछ।

धारा–२५ :  लेखा परीक्षण
संगठनको सबै तहको आय, व्यय, मौज्दात र जिन्सी सहितको विवरण राखी तयार पारिएको प्रतिवेदन सम्बन्धित तहका आ–आफ्ना भेला वा सम्मेलनमा प्रस्तुत गर्नु पर्नेछ। त्यसरी भेला वा सम्मेलनबाट पारित प्रतिवेदन केन्द्रीय समितिमा पेश गर्नुपर्नेछ।

भाग–५
विविध
धारा–२६ :  नियम र उपनियम
यस विधानको अधिनमा रही केन्द्रीय समितिले आवश्यक नियम वा उपनियम निर्माण गर्न सक्नेछ।

धारा–२७ :  गणपुरक संख्या
संगठनको सम्मेलन, भेला र समितिहरूको बैठकका लागि आवश्यक गणपुरक संख्या सम्बन्धित सदस्य संख्याको साधारण बहुमत हुनेछ।

धारा–२८ :  सम्पर्क समिति
१. विभिन्न जिल्लाबाट काठमान्डौ उपत्यकाभित्र आई अस्थायी बसोबास गर्ने, अध्ययन वा विभिन्न पेशामा कार्यरत सदस्य तथा समर्थकहरूलाई संगठनमा आबद्ध गरी क्रियाशील बनाइराख्ने उद्देश्यले केन्द्रीय समिति र कार्यालयको प्रत्यक्ष पहल र सम्पर्कमा उपत्यका सम्पर्क समिति मातहत जिल्ला सम्पर्क समितिहरु गठन गरिनेछ।
२. राष्ट्रिय सम्मेलन वा भेलाहरूमा प्रतिनिधित्वको लागि केन्द्रीय समितिले तोकेबमोजिम हुनेछ।
३. समितिको गठन प्रक्रिया, पदाधिकारी र सदस्य संख्या यसै विधानअन्तर्गत रही के.स.ले तोके बमोजिम हुनेछ।

धारा–२९ :  विभागहरू
केन्द्रीय, क्षेत्रीय वा जिल्ला समितिहरूले आफ्नो कामको आवश्यकतानुसार विभाग, उपविभाग वा उपसमितिहरू बनाउन सक्नेछन्।

धारा–३० :  विशेष प्रतिनिधित्व
हरेक समितिले आफ्नो सम्मेलन आयोजना गर्दा प्रतिनिधि तथा पर्यवेक्षकको कूल संख्याको १० प्रतिशत मनोनयन गर्न सक्नेछ। 
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal