rajamo
। । । । । । । । ताजा सामाचार
अन्तर्वाता / लेख
शुभकामना
राष्ट्रिय जनमोर्चाद्वारा ०६७ मंसिर १८ (डिसेम्बर ४, २०१०) मा काठमाडौंमा आयोजित "वातावरणीय समस्या र मानव जातिको रक्षाको प्रश्न" विषयक गोष्ठीमा ने.क.पा. (मसाल)का महामन्त्री का. मोहनविक्रम सिंहद्वारा पठाएको शुभकामना

अध्यक्ष,
राष्ट्रिय जनमोर्चा
कामरेड,
सर्वप्रथम ने.क.पा. (मसाल) को तर्फबाट हामीले राष्ट्रिय जनमोर्चा द्वारा आयोजित “वातावरण समस्या र मानव जातिको रक्षाको प्रश्न” विषयक विचार गोष्ठीमा उपस्थित सबै अतिथि र सहभागिहरुलाई अभिनन्दन गर्न चाहन्छौं। वातावरण वा जलवायुको समस्या आज मानव जातिको नै अत्यन्त महत्वपूर्ण वा एक प्रकारले जीवन–मरणको समस्या भएको छ। त्यति महत्वपूर्ण प्रश्नमा यो विचार गोष्ठीको आयोजना गरेर रा.ज.मो.ले अत्यन्त महत्वपूर्ण कार्य गरेको छ र त्यसका लागि हामीले यो विचारगोष्ठीका आयोजकलाई धन्यवाद दिन चाहन्छौं।
यहाँ यो उल्लेखनीय छ कि मार्क्सवादी–लेनिनवादीहरुले सैद्धान्तिक, राजनीतिक वा आर्थिक र वर्गसंघर्षसित जोडिएका प्रश्नहरुमा मुख्य ध्यान दिएर वातावरणको प्रश्न बारे उपेक्षाको नीति अपनाउँदै आएका छन्। तर हालै सम्पन्न क्रान्तिकारी पार्टी र संगठनहरुको अन्तर्राष्ट्रिय को–अर्डिनेशन – (International Co-ordination of Revolutionary Parties and Organizations-ICOR) को स्थापना सम्मेलनले वातावरणको समस्यालाई गम्भीर रुपमा लिंदै मार्क्सवादी–लेनिनवादीहरुले पनि त्यसका लागि अन्तर्राष्ट्रिय रुपमा नै जनमत र आन्दोलन संगठित गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ। त्यसको साथै हालै सम्पन्न मार्क्सवादी–लेनिनवादी पार्टी र संगठनहरुको १० औं अन्तर्राष्ट्रिय सम्मेलनले वातावरण बारे त्यही प्रकारको प्रस्ताव पारित गरेको छ। दुवै सम्मेलनहरुले डिसेम्बर ४ लाई विश्व वातावरण दिवस मनाउने निर्णय गरेका छन्। त्यही निर्णय अनुसार ती दुवै सम्मेलनमा सहभागी ने.क.पा. (मसाल)ले पनि त्यो दिन, अर्थात्, ४ डिसम्बर (मार्ग ८ गते)लाई “प्राकृतिक वातावरणको रक्षाका लागि संघर्ष गर्न अन्तर्राष्ट्रिय दिवस” देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरु सहित मनाउने निर्णय गरेको छ।
मार्क्स र एंगेल्सले आफ्नो विभिन्न रचनाहरुमा प्रकृति र मानवका बीचमा सन्तुलित र विवेकयुक्त सम्बन्ध कायम गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए। मार्क्सले “पूँजी”मा र एंगेल्सले “इंगैलन्डमा मजदुर वर्गको अवस्था” तथा “प्रकृतिको द्वन्द्वात्मकता” पुस्तकहरुमा त्यो प्रश्नलाई गम्भीर रुपमा उठाएका छन्। उनीहरुले मानजीवनको रक्षा र उत्पादनका लागि प्रकृतिको आवश्यकता र महत्व तथा समाजवादको निर्माणका लागि उत्पादक प्रणालीलाई उच्चरुपमा विकसित गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्। तर उनीहरुले आफ्ना रचनाहरुमा यो पनि स्वीकार गरेका छन् :  तर त्यो कार्य सन्तुलित र विवेकयुक्त तरिकाले गरिनु पर्दछ। अन्यथा मानव र प्रकृतिका बीचको सम्बन्धले शत्रुतापूर्ण रुप लिनेछ र त्यसबाट समाजलाई लाभको सट्टा गम्भीर क्षती पुग्नेछ। त्यस सिलसिलामा मार्क्सले यो सम्म भनेका छन् :  सम्पूर्ण समाज सबै राष्ट्र वा समकालीन सबै मानव समाजलाई सम्मिलित रुपमा लिने हो भने पनि तिनीहरु पृथ्वीका पूर्ण स्वामी होइनन्, तर त्यसका “वासिन्दाहरु” मात्र हुन्। त्यसकारण उनीहरुले प्रकृतिको उपयोग गर्दा भावी पुस्ताका हितहरुमा आघात नपुग्ने गरेर नै प्रकृतिको उपयोग गर्नुपर्दछ। त्यो कुरालाई अर्को शब्दमा यसरी भन्न सकिन्छ :  पृथ्वीमा मानिसहरु घरको मालिक जस्तो भएर होइन, भाडावाला जस्तो गरेर बसेका हुन्छन्। त्यसैले उनीहरुलाई घरको उपयोग गर्नेमात्र अधिकार हुन्छ, तर त्यसलाई कुनै नोक्सान पुर्‍याउने अधिकार हुन्न। माथिका कुराहरुबाट मार्क्स, एंगेल्सले वातावरणको प्रश्नलाई अत्यन्त गम्भीर रुपमा लिएको कुरामा कुनै शंका हुन्न। तर पछि मार्क्सवादी–लेनिनवादीहरुले त्यो प्रश्नको उपेक्षा गर्दै गए। त्यही गल्तिलाई सच्चाउँदै अहिले क्रान्तिकारी पार्टी र संगठनहरुको अन्तर्राष्ट्रिय संगठन तथा मार्क्सवादी–लेनिनवादी पार्टी र संगठनहरुको १० औं अन्तर्राष्ट्रिय सम्मेलनहरुले पुनः नयाँ प्रकारले उठाउने र अगाडि बढाउने प्रयत्न गरेका छन्।
दुवै सम्मेलनहरुले यो कुरामा जोड दिएका छन् कि आफ्नो व्यक्तिगत नाफा र विश्वमा प्रभूत्वका लागि साम्राज्यवादी शक्तिहरुले प्रकृतिको ध्वसात्मक प्रकारले दोहन गरिरहेका छन्। त्यसले गर्दा नै विश्वमा वातावरणको गम्भीर समस्या पैदा भएको छ र त्यसबाट सम्पूर्ण मानवजातिको अस्तित्वमा नै खतरा पैदा भएको छ। त्यो संकट साम्राज्यवादको कारणले पैदा भएको हो। त्यसकारण साम्राज्यवादको अन्तपछि नै त्यो समस्याको समाधान हुन सक्दछ। त्यसकारण वातावरण सम्बन्धी आन्दोलनलाई साम्राज्यवादका विरुद्धको संघर्षको रुपमा नै अगाडि बढाउनु विश्वभरका मार्क्सवादी–लेनिनवादीहरुको कर्त्तव्य हुन्छ। तर त्यसका साथै वातावरणको आन्दोलनलाई त्यसका पक्षमा देखापर्ने अन्य संघ–संस्थाहरुसित पनि एकता कायम गरेर अगाडि बढाउने तथा व्यापक रुप दिने हाम्रो नीति र प्रयत्न हुनुपर्दछ।
वातावरणको समस्या अन्तर्राष्ट्रिय रुपमा नै एउटा गम्भीर समस्या हो। तर त्यसका साथै नेपालका लागि पनि त्यो एउटा गम्भीर समस्या बनेको छ। हिमालयको हिउँ लगातार पग्लदै गइरहेको छ। जंगलहरु व्यापक रुपले नष्ट भइरहेका छन्। बाढी र पहिरो बढ्दै गइरहेका छन्। नदीहरुको पानी र जलस्रोतहरु सुक्दै गइरहेका छन्। नेपालबाट ठूलो पैमानामा निर्यात हुने गिट्टी र बालुवाका कारणले पनि नेपालको वातावरणमा गम्भीर समस्या पैदा भइरहेको छ। यी सबैको परिणाम स्वरुप जनजीवनमा गम्भीर प्रकारको नकारात्मक असर परिरहेको छ। सरकारले वातावरण  मन्त्रालयको गठन गरेर त्यो दिशामा केही पहलकदमी गरेको देखिन्छ। उच्च हिमालय (काला पहाड)मा मन्त्रीमन्डको बैठक गरेर त्यसले त्यो समस्याप्रति विश्वको ध्यान आकर्षित गर्ने प्रयत्न गरेको छ। देशमा कतिपय एन.जी.ओ. वा आई.एन.जी.ओ.हरुले पनि त्यो प्रश्नलाई उठाएका छन् र त्यो दिशामा केही पहलकदमी गरिरहेको कुरालाई पनि अस्वीकार गर्न सकिन्न। तर, प्रथम, यी सबैले आज विश्वमा बढ्दै गइरहेको वातावरणीय संकटको मूल कारण साम्राज्यवाद हो भन्ने कुरामा ध्यान दिंदैनन्। त्यसकारण उनीहरुका प्रयत्नहरुबाट वातावरणको समस्या मूलभूत रुपमा हल हुन नसक्ने कुरा प्रष्ट छ। द्वितीय, उनीहरुले वास्तवमा वातावरणको समस्या हलगर्न इमान्दारितापूर्वक काम गर्नेभन्दा पनि वातावरणको नाममा आर्थिक उपार्जन गर्नेतिर नै बढी ध्यान दिएको पाइन्छ। तैपनि उनीहरुका प्रयत्नहरुबाट वातावरणको समस्या हल गर्न जेजति सकारात्मक योगदान सम्भव छ, त्यसलाई उपयोग गर्ने प्रयत्न गर्दै त्यो आन्दोलनलाई उच्च र व्यापक रुपमा अगाडि बढाउने हाम्रो प्रयत्न हुनुपर्दछ।  
हामीलाई आशा र विश्वास छ, आज रा.ज.मो.द्वारा आयोजित यो विचारगोष्ठी तथा त्यसका तत्वधानमा देशव्यापी रुपमा सम्पन्न कार्यक्रमहरुले देशभरी नै वातावरणको पक्षमा जनचेतना, जनमत र आन्दोलनलाई अगाडि बढाउन महत्वपूर्ण योगदान दिनेछ। त्यसैले ने.क.पा. (मसाल)ले आजको विचारगोष्ठी सहित त्यसका तत्वाधानमा देशव्यापी रुपमा हुने कार्यक्रमहरुको सफलताका लागि शुभकामना प्रकट गर्दछ।
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal